काठमाडौँ । नेपालमा ग्रीन हाइड्रोजन ग्यास उत्पादनमा अर्बौँ लगानीका लागि विदेशी कम्पनीले प्रस्ताव गरेको छ । सौर्य ऊर्जा र ग्रीन हाइड्रोजनमा केन्द्रित दक्षिण कोरियाली कम्पनी जी-फिलोस कोअपरेटिभ लिमिटेडले नेपालमा हरित हाइड्रोजन उत्पादनको पाइलट प्लान्ट निर्माणका लागि प्रस्ताव गरेको हो ।
उक्त परियोजनाका लागि कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न लगानी बोर्डबाट स्वीकृति समेत पाइसकेको छ । १५ वैशाखमा कम्पनीले बोर्डमा परियोजनाको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गरेको थियो । १३ जेठमा बसेको लगानी बोर्डको ६३ औँ बैठकले उक्त कम्पनीलाई नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको पाइलट प्लान्ट र फ्युल सेल प्लान्ट स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययनको अनुमति दिएको हो ।
लगानी बोर्डका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायका अनुसार अब कम्पनीले नेपालमा ‘हरित हाइड्रोजन उत्पादनको पाइलट प्लान्ट र फ्युल सेल प्लान्ट स्थापना’ परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ । उनका अनुसार ग्रीन हाइड्रोजन ग्यास उत्पादनका लागि नेपालमा आएको यो पहिलो विदेशी लगानी सम्बन्धी प्रस्ताव हो । उक्त प्लान्टले नेपालको खेर जाने जलविद्युत्बाट प्रयोग गरी इलेक्ट्रोलाइसिस विधि (पानी र विद्युत्को रासायनिक प्रक्रिया) मार्फत हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले नेपालमा हरित हाइड्रोजन ग्यास उत्पादनका लागि ५० मिलियन डलर (करिब ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ) लगानी प्रस्ताव गरेको उनले जानकारी दिए । उक्त परियोजना अन्तर्गत कम्पनीले नेपालमा चरणबद्ध रूपमा ग्रीन हाइड्रोजन विस्तार गर्ने योजना अघि सारेको छ । जसअन्तर्गत सुरुवातमा २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन सुरु गर्ने प्रस्ताव छ। सोपछि बजारको माग तथा सरकारी नीति अनुसार भविष्यमा उत्पादन थप विस्तार गर्ने भनिएको छ ।
उत्पादन हुने ग्रीन हाइड्रोजनलाई उद्योग (मल तथा स्टिल उद्योग), अमोनियम नाइट्रेट उत्पादन तथा ऊर्जा भण्डारण प्रणालीहरूमा प्रयोग गरिने बताइएको छ । साथै नेपालमा उत्पादन भएको हरित हाइड्रोजन ग्यास भारत र चीन जस्ता छिमेकी मुलुकहरूमा निर्यातको ठुलो सम्भावना समेत रहेको उनले बताए ।





































