काठमाडौँ । नेपाल आर्थिक संघको ३६औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ। सभाले प्रा. डा. विश्वम्भर प्याकुर्याललाई सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएको छ।
निर्वाचनपछि सम्बोधन गर्दै अध्यक्ष प्याकुर्यालले संघले स्थापना कालदेखि सामना गरेका चुनौतीहरूको चर्चा गर्दै पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य विस्तार गर्दै आफ्नो भूमिका सुदृढ बनाएको बताए। विश्व बैंक, यूएनडीपी तथा नेपाल सरकार सँगको सहकार्यमा आर्थिक नीति, अनुसन्धान र समसामयिक विकासका विषयमा बहस तथा कार्यक्रमहरू सञ्चालन गरिएको उनले जानकारी दिए।
उनले संघका गतिविधिलाई आगामी दिनमा प्रदेशस्तरसम्म विस्तार गर्ने योजना रहेको पनि उल्लेख गरे। साथै, दक्षिण एसियाका विद्यार्थी तथा नेपाली सहभागीहरूको सहभागितामा सार्क क्षेत्रका आर्थिक मुद्दामा केन्द्रित क्षेत्रीय कार्यक्रम आयोजना गरिएको र यसले संघको पहुँच र पहिचान विस्तारमा टेवा पुर्याएको बताए।
संघको उपाध्यक्षमा डा. पोषराज पाण्डे र प्रा. डा. गोविन्द नेपाल चयन भएका छन्। महासचिवमा डा. गोपाल प्रसाद तिवारी निर्वाचित भएका छन्।
त्यस्तै, सचिवमा डा. खोमराज खरेल र कोषाध्यक्षमा प्रा. डा. शान्ता सिंह चयन भएका छन्।
नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा प्रा. डा. विजय श्रेष्ठ, प्रा. डा. केशवराज खड्का, प्रा. डा. शिवराज अधिकारी, प्रा. डा. कुसुम शाक्य, प्रा. डा. माधवप्रसाद दाहाल, डा. विष्णुदेव पन्त, डा. मणिकुमार नेपाल, डा. यादवमणि उपाध्याय तथा जमुना श्रेष्ठ रहेका छन्।


































