काठमाडौँ । गत आर्थिक वर्ष २०८०।०८१ मा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ ।
उक्त अवधिमा अमेरिकी डलरमा यस्तो सञ्चिति ३०.४ प्रतिशत बढेर १५ अर्ब २७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर सञ्चिति ११ अर्ब ७१ करोड रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ३७.४ प्रतिशतले वृद्धि भएर १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
२०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन्।


































