काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । यो वार्षिक बजेट विनियोजनको ३३.७३ प्रतिशत हो । यस अवधिसम्म नेपालको कुल सार्वजनिक ऋण दायित्व भने २९ खर्ब ७५ अर्ब रुपैयाँ नाघेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार आर्थिक वर्षको सुरुआतमा २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण विनिमय दरमा भएको नाफासहित घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ कायम भएको हो ।
कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ । कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । तर, कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्रै ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो ।
सरकारले आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ परिचालन गर्ने लक्ष्य राखेको छ । चार महिनामा आन्तरिक ऋणबाट १ खर्ब २५ अर्ब र वैदेशिक ऋणबाट २८ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएको छ । लक्ष्यअनुसार आन्तरिक ऋण परिचालनको प्रगति ३०.४९ प्रतिशत र वैदेशिक ऋणको ११.६२ प्रतिशत रहेको छ ।
यस अवधिमा सरकारले लिएको कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८.७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । वार्षिक लक्ष्यअनुसार अझै ५ खर्ब ४ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ ऋण परिचालन गर्न बाँकी छ ।
यसैगरी, सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कात्तिक मसान्तसम्म १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । यो वार्षिक विनियोजनको ३३.७३ प्रतिशत हो ।
चार महिनामा ऋण सेवा खर्च जीडीपीको २.१४ प्रतिशत पुगेको छ । यसमध्ये आन्तरिक ऋण भुक्तानीमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ ।
आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड र ब्याजमा ४ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
































