काठमाडौं । सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा सरकारले ठूलो रकम खर्च गरिरहँदा मुलुकको कुल ऋण दायित्व ३० खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म सरकारको सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो। यो रकम मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.५९ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४५.५९ प्रतिशत पुगेको छ।
आर्थिक वर्षको सुरुवातमा सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो। तीन महिनाको अवधिमा सरकारले १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ ऋण प्राप्त गरेको छ। यसबीच विनिमय दरमा आएको परिवर्तनका कारण १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँ बराबरको लाभ देखिएको छ भने ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ साँवा भुक्तानी गरिएको छ।
सरकारको कुल ऋणमध्ये बाह्य ऋणको हिस्सा ५३.१३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत छ। रकमका आधारमा बाह्य ऋण १५ खर्ब ९८ अर्ब ८० करोड ५७ लाख रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड ९ लाख रुपैयाँ रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड ७ लाख रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। तर असोज मसान्तसम्म १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ मात्रै परिचालन भएको छ। यो वार्षिक लक्ष्यको १८.७३ प्रतिशत हो।
ऋण परिचालनमा आन्तरिक स्रोतको योगदान बढी देखिएको छ। तीन महिनामा आन्तरिक ऋणमार्फत १ खर्ब रुपैयाँ जुटाइएको छ। यो वार्षिक लक्ष्यको २४.३९ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ४ खर्ब १० अर्ब रुपैयाँ ऋण उठाउने योजना बनाएको छ।
त्यस्तै, बाह्य ऋण परिचालनको वार्षिक लक्ष्य २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ रहेकामा असोज मसान्तसम्म २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ। यो लक्ष्यको ९.३९ प्रतिशत हो।
पहिलो तीन महिनामा प्राप्त कुल ऋणमध्ये आन्तरिक स्रोतको हिस्सा ८१.०९ प्रतिशत र बाह्य स्रोतको हिस्सा १८.९१ प्रतिशत रहेको छ। वार्षिक लक्ष्य पूरा गर्न सरकारले अझै ५ खर्ब ३४ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ ऋण उठाउन बाँकी छ। यसमध्ये आन्तरिक ऋणतर्फ ३ खर्ब १० अर्ब र बाह्य ऋणतर्फ २ खर्ब २४ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ परिचालन गर्नुपर्नेछ।
सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सार्वजनिक ऋणको साँवा तथा ब्याज तिर्न ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ। यो वार्षिक बजेटमा विनियोजित रकमको २३.६६ प्रतिशत हो।
ऋणको साँवा र ब्याज भुक्तानीका लागि सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ छुट्याएको छ। असोज मसान्तसम्मको खर्च कटाउँदा अझै ३ खर्ब १९ अर्ब १ करोड ३५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
कुल ऋण सेवा खर्चमध्ये आन्तरिक ऋणको साँवा तथा ब्याज तिर्न ८२ अर्ब ७३ करोड ८० लाख रुपैयाँ खर्च भएको छ। यो आन्तरिक ऋण भुक्तानीका लागि छुट्याइएको वार्षिक बजेटको २५.२१ प्रतिशत हो।
आन्तरिक ऋणको साँवा भुक्तानीमा ६५ अर्ब १० करोड ५० लाख र ब्याजमा १७ अर्ब ६३ करोड ३० लाख रुपैयाँ खर्च भएको छ।
त्यसैगरी, बाह्य ऋणको साँवा तथा ब्याज भुक्तानीमा १६ अर्ब १३ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको १७.९८ प्रतिशत हो। यसमध्ये साँवा तिर्न १२ अर्ब ६४ करोड २८ लाख र ब्याज भुक्तानीमा ३ अर्ब ४९ करोड २७ लाख रुपैयाँ खर्च गरिएको छ।
असोज मसान्तसम्म सरकारले कुल ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ साँवा र २१ अर्ब १२ करोड ५७ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ। प्रतिवेदनअनुसार जीडीपीको तुलनामा ऋण सेवा खर्च १.५० प्रतिशत रहेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक विवरणअनुसार साउनदेखि असोजसम्म आन्तरिक ऋण भुक्तानीमा सबैभन्दा बढी रकम भदौमा खर्च भएको छ।
तीन महिनाको कुल ८२ अर्ब ७३ करोड ८० लाख रुपैयाँ आन्तरिक ऋण भुक्तानीमध्ये साउनमा २२ अर्ब ३४ करोड २ लाख, भदौमा ५४ अर्ब ४५ करोड ८८ लाख र असोजमा ५ अर्ब ९३ करोड ९० लाख रुपैयाँ खर्च भएको छ।
यस अवधिमा आन्तरिक ऋणको साँवा भुक्तानी साउनमा १७ अर्ब, भदौमा ४६ अर्ब ५४ करोड ५० लाख र असोजमा १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। ब्याज भुक्तानीतर्फ भने क्रमशः ५ अर्ब ३४ करोड २ लाख, ७ अर्ब ९१ करोड ३८ लाख र ४ अर्ब ३७ करोड ९० लाख रुपैयाँ खर्च भएको छ।
बाह्य ऋणको साँवा तथा ब्याज भुक्तानीमा साउनमा २ अर्ब ६५ करोड ५९ लाख, भदौमा ५ अर्ब ५५ करोड ५७ लाख र असोजमा ७ अर्ब ९२ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ। यसअनुसार बाह्य ऋण भुक्तानीको सबैभन्दा ठूलो हिस्सा असोजमा रहेको छ।
सरकारले पहिलो तीन महिनामा प्रत्येक महिना ऋण परिचालन बढाउँदै लगेको देखिन्छ। साउनमा २३ अर्ब ८४ करोड २७ लाख रुपैयाँ ऋण प्राप्त गरेको सरकारले भदौमा ३८ अर्ब १० करोड ५१ लाख र असोजमा ६१ अर्ब ३७ करोड ८० लाख रुपैयाँ ऋण उठाएको छ।
मासिक विवरणअनुसार आन्तरिक ऋण परिचालन साउनमा २० अर्ब, भदौमा ३० अर्ब र असोजमा ५० अर्ब रुपैयाँ रहेको छ।
बाह्य ऋणतर्फ साउनमा ३ अर्ब ८४ करोड २७ लाख, भदौमा ८ अर्ब १० करोड ५१ लाख र असोजमा ११ अर्ब ३७ करोड ८० लाख रुपैयाँ प्राप्त भएको छ।
यसले चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामा सरकारले गरेको कुल ऋण परिचालनको झन्डै आधा हिस्सा असोज महिनामै केन्द्रित भएको देखाउँछ। विशेषगरी आन्तरिक ऋण उठाउने क्रम असोजमा तीव्र बनेको छ।
































