काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै सम्पूर्ण क्रिकेटप्रेमीहरुले अनवरत रुपमा खेलको आनन्द लिन पाउन् भन्ने उद्देश्यसाथ नेपाल टेलिकमले NT Cricket Dhamaka Pack सार्वजनिक गरेको छ। एनपीएल मंसिर १५ गते काठमाडौंको त्रिभुवन विश्वविद्यालय क्रिक्रेट मैदान किर्तिपुरमा आयोजना हुँदैछ ।
मंसिर १३ गते लाजिम्पाटस्थित होटल र्याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको MEET & GREET कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रुपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गरेका छन् ।
यस योजना अन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि रु ६९९ मा ३०० जीबी डाटा उपलब्ध हुनेछ, जसमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
आज ( मंसिर १४) देखि आगामी पुस६ गते सम्म लागू हुने एनटी क्रिकेट धमाका प्याकहरु मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत खरिद गर्न सकिनेछ । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्पूर्ण खेलप्रेमीको खेलप्रतिको लगावलाई सम्बोधन गर्ने प्रयास स्वरूप सबैले नेपाल प्रिमियर लिगका खेलहरु सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकुन् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको बताए
यसका साथै नेपाल प्रिमियर लिग सम्पन्न हुने किर्तिपुरस्थित क्रिकेट मैदानमा हुनसक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि small cell लगायतका उपकरणका साथसाथै क्रिकेट एसोसियन अफ नेपाल (क्यान) को अनुरोधमा Media Centre सञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान FTTH नि:शूल्क जडान कार्य समेत सम्पन्न गरिसकिएको छ ।


































