काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो ।
सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले नौ ओभरको समाप्तिमा पूरा गरेको हो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाउनुभयो ।
सुदूरपश्चिमका लागि हेमन्त थामीले दुई विकेट हात पार्दा कप्तान दिपेन्द्रसिंह ऐरी र अविनास बोहोराले एकएक विकेट हात पार्नुभयो ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्ता दिपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्नु भएको थियो । बलिङको निम्तो पाएको लुम्बिनीको कसिलो बलिङमा सुदूरपश्चिम १९ ओभर एक बलमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो ।
सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाउनु भयो । कप्तान दिपेन्द्रसिंह ऐरीले १३, हर्षित सिंह र स्कट कग्लेजिनले समान १०र१० रन बनाउनु भयो ।अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सक्नु भएन ।
सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न बलिङमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गर्नु भएको छ । ११ ओभरको चौथो, पाँचौ र छैटौं बलमा क्रमश सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहराको विकेट लिँदै पौडेलले ह्याट्रिक पूरा गर्नु भएको हो । । यस्तै शेर मल्ल र रूवेन ट्रुम्पलम्यानले तीन तीन तथा तिलक भण्डारीले एक विकेट लिनुभयो ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा पुगेको हो भने दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै लुम्बिनी फाइनल पुगेको हो । सुदूरपश्चिम अघिल्लो सिजनको उपविजेता टिम हो भने लुम्बिनी अघिल्लो सिजन समूह चरणबाटै बाहिरिएको थियो । सुदूरपश्चिम अघिल्लो सिजनको समेत उपविजेता टिम हो । यो हारसँगै सुदूरपश्चिमले लगातार फाइनल पुगेर हारको सामना गरेको हो ।
कसले के पुरस्कार जिते ?
प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भएका छन् । रोहितले ओमोडा कार प्राप्त गरेका छन् । रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए ।
यस्तै रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए । उनी संयुक्त रूपमा सर्वाधिक विकेट टेकर हुन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भएका छन् । १५ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने बने । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन्
प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् । लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् ।
प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भएका छन् । उनले पल्सर बाइक प्राप्त गरेका छन् । फाइनलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन घोषित भएका छन् ।


































