काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनल चरणमा सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्ने भएका छन् ।
बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधिको पक्कापक्की भएको हो । यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेको दुई टिम नै अन्ततस् फाइनलका प्रतिस्पर्धी भएका हुन्।
यी दुई टोली लिग र प्लेअफमा गरी दुई पटक भेट हुँदा दुवै पटक सुदूरपश्चिम विजयी भएको थियो। सुदूरले लिग चरणमा खेलेको ७ मध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो।
सुदूरले समूह चरणमा लयलाई कायम राख्दै क्वालिफायर वान जितेर फाइनल पुग्ने पहिलो टोली बन्दा जनकपुरले पाएको अर्को अवसर सदुपयोग गरेको छ। कर्णाली याक्स एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गरेर क्वालिफायर टु मा पुगेको थियो । जनकपुरले पाएको अवसरमा कर्णालीलाई लो स्कोरिङ खेलमा पराजित गरेको हो।


































