National life

तरलता व्यवस्थापन जटिल मोडमा, एकै महिनामा ९ पटक ऋणपत्र जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२७ माघ २०८२, मङ्गलबार
1.5kShares
तरलता व्यवस्थापन जटिल मोडमा, एकै महिनामा ९ पटक ऋणपत्र जारी
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत पुस १४ गतेयता हालसम्म ९ पटक ऋणपत्र जारी गरिसकेको छ । कुनै समय ऋण दिन पैसा नहुने अवस्थामा पुगेको बैंकिङ बजार हाल अधिक तरलताका कारण समस्यामा परेको छ।

उत्पादनशील क्षेत्रमा कर्जा लगानी गरौँ भन्ने रेडिमेड जवाफ धेरै विज्ञहरूले दिन्छन्, तर कसरी गर्ने ? बजारमा कर्जाको माग सिर्जना हुन सकेको छैन, लगानीकर्ताको मनोबल कमजोर छ, जेनजी आन्दोलनका कारण सिर्जना भएको परिस्थितिले बजारमा झनै डरको माहोल छ । लगानीकर्ताहरू आफ्नो सम्पत्तिको सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानी गर्न तयार छैनन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्को विकल्पका रूपमा विकास निर्माणमा बैंकको पैसा प्रयोग होस् भन्ने उद्देश्यले पुँजीगत खर्च बढाउन विज्ञहरूले सरकारलाई पटक–पटक सुझाव दिँदै आइरहेका छन् । तर जेनजी आन्दोलनको जगमा उभिएको अन्तरिम सरकार भने देशमा निर्वाचन आयोग नै छैन भन्ने जसरी आफूहरूको प्रमुख दायित्व निर्वाचन गराउनु हो भन्दै जिम्मेवारीबाट पन्छिने गरेको पछिल्ला घटनाक्रमहरूले देखाएको छ।

अर्थतन्त्र र राजनीतिको यस्तो अस्तव्यस्त अवस्थामा राष्ट्र बैंकलाई भने तरलता व्यवस्थापन गर्न सकस परिरहेको छ । बैंकहरूले ब्याजदर घटाएर ऐतिहासिक अवसर दिँदा पनि बजारमा कर्जाको माग सिर्जना हुन सकिरहेको छैन ।

तरलता व्यवस्थापन जटिल मोडमा

केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार, बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७६ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ। राष्ट्र बैंकको निर्देशनअनुसार, बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन्।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५७ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। यसअनुसार हाल बैंक तथा वित्तीय संस्थामा ११ खर्ब ४४ अर्ब रुपैयाँ अतिरिक्त तरलता रहेको देखिन्छ। बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७४.३७ प्रतिशत रहेको छ।

यस्तो अवस्थामा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ऋणपत्र र निक्षेप सङ्कलन बोलकबोल उपकरणको सहारा लिँदै आइरहेको छ । माघ महिनामा मात्रै हालसम्म राष्ट्र बैंकले विभिन्न समयावधिका १ खर्ब ६० अर्ब बराबरका निक्षेप सङ्कलन उपकरण जारी गरिसकेको छ । आइतबार मात्रै बैंकले ५० अर्बको निक्षेप सङ्कलन उपकरण जारी गरेको छ ।

निक्षेप सङ्कलन बोलकबोल भनेको के हो ?

नेपाल राष्ट्र बैंकका अनुसार, बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो ।

यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ, जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।

ऋणपत्र के हो  ?

ऋणपत्र भनेको राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई पैसा राख्न दिने सरकारी कागजात हो। यसमा म्याद, ब्याजदर र फिर्ता गर्ने मिति उल्लेख गरिएको हुन्छ । बैंकहरूले ऋणपत्र किनेर निश्चित समयपछि सावाँ र ब्याज फिर्ता पाउँछन् । ऋणपत्र बैंकिङ प्रणालीमा पैसा व्यवस्थापन र तरलता सन्तुलन कायम राख्नका लागि प्रयोग गरिन्छ।

नेपाल राष्ट्र बैंकले ऋणपत्रलाई यसरी परिभाषित गर्छ, “ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन् ।”

राष्ट्र बैंकले कस्तो अवस्थामा निक्षेप सङ्कलन बोलकबोल र ऋणपत्र जारी गर्छ ?

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता हुँदा बजार सन्तुलन कायम राख्न ऋणपत्र र निक्षेप सङ्कलन बोलकबोल जस्ता उपकरण प्रयोग गर्छ। जब बजारमा कर्जाको माग सिर्जना हुँदैन, बैंकमा पैसा थुप्रिन थाल्छ, जसले गर्दा अनावश्यक तरलता पैदा हुन्छ।

बैंकहरूलाई पैसा आवश्यक नभएकाले ब्याजदर घटाउँछन् । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले गर्दा आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वतः घट्छ । हाल माघ महिनाका लागि वाणिज्य बैंकहरूको औसत आधार दर ५.३६ प्रतिशतमा झरेको छ।

माघ महिनाका लागि वाणिज्य बैंकहरूको आधार दर : 

यस्तो स्थितिमा ब्याजदरमा सन्तुलन ल्याउन राष्ट्र बैंकलाई चुनौती रहन्छ। त्यसकारण राष्ट्र बैंकले यस अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट निश्चित अवधिका लागि पैसा सङ्कलन गर्न बोलकबोल प्रक्रिया सुरु गर्छ। यसले बैंकिङ प्रणालीमा तरलता कम गर्न र ब्याजदरलाई स्थिर राख्न मद्दत गर्छ।

ऋणपत्र पनि यस्तै अवस्थामा प्रयोग हुने वित्तीय उपकरण हो। राष्ट्र बैंकले बैंकहरूसँग भएको अतिरिक्त पैसा आफ्नो नियन्त्रणमा ल्याउन ऋणपत्र जारी गर्छ। बैंकहरूले ऋणपत्र किन्छन् र निश्चित म्यादपछि सावाँ र ब्याज फिर्ता पाउँछन् ।

यसरी, ऋणपत्रले बैंकिङ प्रणालीमा पैसा व्यवस्थापन गर्ने, तरलता सन्तुलन कायम राख्ने र बजारमा अनावश्यक उतार–चढाव रोक्ने काम गर्दै आइरहेको छ ।

तरलता व्यवस्थापन गर्न एकै महिनामा ९ पटक ऋणपत्र जारी

तरलता व्यवस्थापन गर्न हम्मे–हम्मे परेपछि गएको पुस महिनामा राष्ट्र बैंकले ऋणपत्रको व्यापक प्रयोग गर्‍यो । हालसम्म राष्ट्र बैंकले ऋणपत्रको प्रयोगबाट मात्रै बैंक तथा वित्तीय संस्थाबाट २ खर्ब रकम खिचेको छ ।

एकैमहिनामा ९ पटक ऋणपत्र जारी गर्नुपर्ने अवस्थाको सृजना हुनुले अधिक तरलताको समस्या कति जटिल मोडमा छ भन्ने कुरा प्रस्ट नै छ । सुरुमा पुस १४ गते बैंकले २५ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ 'क' जारी गर्यो। त्यसपछि पुस १६, २० र २२ गते पनि २५ अर्ब रुपैया बराबरका लगातार चार वटा ऋणपत्र जारी भए।

यस्तै,  पुस २३ गते २० अर्ब, २४ गते १० अर्ब, २८ गते २५ अर्ब, २९ गते २० अर्ब र पुस ३० गते २५ अर्बको गरी कुल २ खर्बका ऋणपत्र राष्ट्र बैंकले जारी गरेको हो। यी ऋणपत्रहरुको साँवा र ब्याज भुक्तानी राष्ट्र बैंकले २०८३ को पुसमा गर्ने छ।

अत्यधिक तरलताको परिस्थितिमा बैंकिङ प्रणालीलाई सन्तुलनमा राख्न नेपाल राष्ट्र बैंकले ऋणपत्र र निक्षेप सङ्कलन बोलकबोलको व्यापक प्रयोग गरिरहेको छ। पुस महिनामा मात्रै लगातार नौ पटक ऋणपत्र जारी गरेर दुई खर्ब रुपैयाँ बैंकबाट सङ्कलन गर्नु, तरलता व्यवस्थापन कति चुनौतीपूर्ण अवस्थामा छ भन्ने स्पष्ट प्रमाण हो।

यसले राजनीतिक अस्थिरता र बजारमा कर्जाको माग नहुँदा राष्ट्र बैंकले वित्तीय प्रणालीमा अनुशासित तरलता नियन्त्रणको भूमिका निर्वाह गर्न कति सक्रिय हुनुपर्ने अवस्था आएको भन्ने कुराको चुनौती समग्र अर्थतन्त्रलाई नै चुनौती दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?