काठमाडौँ । नजिकिँदै गरेको बडादशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
चाडपर्वको समयमा साना तथा नयाँ नोट साट्न बैंकका काउन्टरमा हुने भीड कम गर्नुका साथै सर्वसाधारणलाई सहज रूपमा नगद उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो ।
हाल अधिकांश बैंकका एटीएमबाट मुख्यतः ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै वितरण हुँदै आएका छन् । तर, एटीएमबाटै १०० रुपैयाँ दरका नोट निकाल्न पाउनुपर्ने माग ग्राहकबाट आउने गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले केही बैंकसँग प्राविधिक पक्षबारे गरेको छलफलका क्रममा एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न सकिने अवस्था रहेको जानकारी पाएपछि यस्तो व्यवस्था गर्न आग्रह गरेको हो ।
राष्ट्र बैंकले नेपाल बैंकर्स संघलाई पठाएको पत्रमा दशैंको समयमा १०० रुपैयाँ दरका नोट एटीएमबाटै उपलब्ध गराउन सके बैंक तथा वित्तीय संस्थाका काउन्टरमा साना दरका नोट साट्न आउने ग्राहकको भीड उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको उल्लेख छ ।
राष्ट्र बैंकले उक्त पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स संघ नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत पठाएको छ ।
सबै एटीएममा भने तत्काल सम्भव नहुने
राष्ट्र बैंकले १०० रुपैयाँका नोट एटीएमबाट वितरण गर्न आग्रह गरे पनि सबै एटीएममा यस्तो व्यवस्था गर्न तत्काल सम्भव नहुने बैंकरहरूको भनाइ छ ।
बैंकरहरूका अनुसार पुरानो मोडलका एटीएममा दुईवटा मात्रै नगद राख्ने स्थान हुने भएकाले त्यस्ता मेसिनमा हाल १ हजार र ५०० रुपैयाँ दरका नोट राखिँदै आएको छ । त्यसमा थप १०० रुपैयाँ दरका नोट राख्ने क्षमता हुँदैन ।
तर, नयाँ पुस्ताका एटीएममा भने चारवटासम्म नोट राख्न मिल्ने स्थान हुने भएकाले अतिरिक्त स्थानमा १०० रुपैयाँ दरका नोट राखेर वितरण गर्न सकिने अवस्था रहेको बैंकरहरू बताउँछन् ।
उनीहरूका अनुसार हाल सञ्चालनमा रहेका एटीएममध्ये करिब २५ प्रतिशत नयाँ मोडलका भएकाले ती एटीएममा १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन सकिने सम्भावना छ ।
यसरी नयाँ प्रविधियुक्त एटीएममा १०० रुपैयाँका नोट उपलब्ध गराउन सके दशैंका बेला साना नोट आवश्यक पर्ने सर्वसाधारणलाई सहज हुने र बैंकका काउन्टरमा हुने भीडसमेत केही कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
































