काठमाडौँ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिना धितो पत्र बजारमा ५ अर्ब १५ करोड मूल्य बराबरको थप धितो पत्र सूचीकृत भएको छ।
बैंकको तथ्यांक अनुसार चालु आवको ३ महिनामा ३ अर्ब ४३ करोड बराबरको बोनस सेयर, १ अर्ब ७२ करोड बराबरको हकप्रद सेयर र ४७ लाख बराबरको एफपीओ धितो पत्र बजारमा सूचीकृत भएको हो।
असोज मसान्तमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ। सूचीकृत कम्पनीहरूमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्।
यो अवधिमा नेपाल धितो पत्र बोर्डले ४ अर्ब ६ करोड बराबरको हकप्रद सेयर र ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ४ अर्ब ७६ करोड बराबरको धितो पत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितो पत्र बजार पुँजीकरणको हिस्सा ५९.२ प्रतिशत रहेको छ। त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १४.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.३ प्रतिशत रहेको छ।
































