काठमाडौँ । अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका कागजात नक्कली भएको आशंकासम्बन्धी प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको हो। समितिमा उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्।
समितिलाई मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता, कागजात प्रमाणीकरण प्रक्रिया तथा अन्य प्रशासनिक कमजोरीबारे अनुसन्धान गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
मन्त्रालयका अनुसार वाल्मिकी विद्यापीठको नाममा अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली देखिएपछि छानबिन अघि बढाइएको हो। यसअघि जारी गरिएका सिफारिसका आधारमा थप भिसा प्रक्रिया अघि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानको निष्कर्षअनुसार आवश्यक प्रशासनिक तथा कानुनी कदम चालिने जनाएको छ। यसअघि पनि शंकास्पद कागजात र रसिद प्रयोग भएको आशंकामा गृह मन्त्रालयलाई जानकारी गराइएको थियो।


































