काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले आजबाट विद्यालय बन्द गराइ माइतीघर मण्डलामा नियमित हाजिर हुने निर्णय गरेका छन् । महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनलाई अवज्ञा गर्दै निर्णायक आन्दोलन भन्दै उनीहरुले सो निर्णय गरेका हुन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै महानगरका प्रधानाध्यापकहरुले शिक्षक महासंघले सुरु गरेको आन्दोलनमा समर्थन गर्दै त्यसमा सहभागी हुने जनाएका छन् । आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति संवेदनशील हुँदै उक्त क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपठन गरिने प्रतिवद्धता व्यक्त गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।
यता शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।



































