काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने १९ हजार बढी ग्राहकको लाइन काटेको छ। एक महिनाको अवधिमा प्राधिकरणले ७२ करोड ३१ लाख बढी बक्यौता नबुझाउने ग्राहकको लाइन काटेको हो ।
गत पुस २ गतेदेखि २८ गतेसम्मको अवधिमा प्राधिकरणले ७२ करोड ३१ लाख ६४ हजार रुपैयाँ बराबरका बक्यौता बाँकी रहेका १९ हजार २ सय ३२ ग्राहकको लाइन काटेको उल्लेख गरेको छ।
सबैभन्दा धेरै लाइन मधेस प्रदेश प्रादेशिक कार्यालय जनपुरमा ६ हजार ३६८ साना ग्राहकको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय अर्थ शाखाका अनुसार सबैभन्दा धेरै बक्यौता लुम्बिनी प्रादेशिक कार्यालय बुटवल मार्फत देखिएको छ । उक्त कार्यालय मार्फत ३८ करोड ८३ लाख ४५ हजार रुपैयाँ बराबरको बक्यौता बाँकी छ । त्यस अवधिमा कार्यालयले २ हजार ४४० साना ग्राहकको लाइन काटेको छ।
यस्तै, बागमतीमा प्रदेश डिभिजन कार्यालय हेटौँडा मार्फत ७०४ वटा ग्राहकको लाइन काटिएको छ । सो कार्यालय मार्फत २ करोड ५९ लाख ५१ हजार रुपैयाँ बाँकी छ । यता, बागमती प्रादेशिक कार्यालय काठमाडौँले पनि १ हजार ५४८ वटा ग्राहकको लाइन काटेको छ। सो कार्यालय मार्फत ३ करोड १० लाख २२ हजार रुपैयाँ बक्यौता बाँकी रहेको छ ।
त्यसका साथै, सुदूरपश्चिम प्रादेशिक कार्यालयले ८८८ वटा, कर्णालीले १ हजार ११२,प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले १ हजार ६३३, प्रादेशिक कार्यालय पोखराले १ हजार २४८ वटा ग्राहकको लाइन काटेको उल्लेख छ ।

प्राधिकरणका अनुसार यस अवधिमा झन्डै २३ करोड बक्यौता तिरेपछि १४ हजार ग्राहकको लाइन जोडिएको छ । १४ हजार बढी ग्राहकले झन्डै २३ करोड बक्यौता तिरेपछि लाइन जोडिएको हो। प्राधिकरणका अनुसार उक्त अवधिमा २२ करोड ८४ लाख ५९ हजार रुपैयाँ बक्यौता तिरेका छन् । बक्यौता तिरेपछि १४ हजार १११ ग्राहको विद्युत् लाइन जोडिएको हो ।
यद्यपि, ५ हजार १२१ ग्राहकको लाइन जोड्न बाँकी छ । उनीहरूको ४९ करोड ४७ लाख रुपैयाँ बराबरको बक्यौता बाँकी छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै बक्यौता प्रादेशिक कार्यालय जनकपुर मार्फत ८ करोड २५ लाख ९४ हजार रुपैयाँ उठेको छ । सो क्षेत्रका ३ हजार ७६८ ग्राहको लाइन जोडिएको छ ।


































