काठमाण्डौ। नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा खिच्दै आएको हो ।
सोही क्रममा आज ३० अर्ब रुपैयाँ झिक्न लागेको हो ।
राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी वैशाख २४ गते हुनेछ ।
निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।































