काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि १९ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्दै १ खर्ब रुपैयाँ तान्ने भएको छ।
यसका लागि शुक्रबार दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ। सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि माथि, ५ करोड रुपैयाँको गुणकमा प्रस्ताव पेश गर्न सक्नेछन्, जुन कुल आह्वान गरिएको रकमसम्म सीमित हुनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन ब्याजदरको आधारमा प्रतिस्पर्धात्मक बोलकबोलमार्फत हुनेछ।
यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन योग्य हुनेछन्।
उक्त १९ दिने निक्षेप संकलन उपकरणअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज असार १७ गते भुक्तानी गरिनेछ।































