काठमाडौँ । निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ । आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो।
यो दुई सय १६ मेगावाट क्षमताको छ । सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
धुञ्चेको त्रिशूली दोभान तथा भोटेकोशी सङ्गम स्थलमा बाँध बाँधी छ मिटर गोलाइको नौ हजार चार सय ९१ मिटर ‘हेडरेस’ सुरुङको सहायताबाट त्रिशूली नदीको ७६ क्युसेक पानी मैलुङ दोभानमा पुर्याई तीन वटा टर्वाइनबाट दुई सय १६ मेगावाट विद्युत् उत्पादन गरिने छ । सन् २०२६ को डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जलविद्युत् आयोजनाका सहायक प्रबन्धक विप्लव खड्काको भनाई छ ।
आयोजना निर्माण सम्पन्न गर्न करिब ७० देखि ८० अर्ब लागत लाग्ने र निर्माण सम्पन्न भएको ३० वर्ष पछि स्वतः नेपाल सरकारको हुने आयोजनाले जनाएको छ । राजधानी काठमाडौँबाट तीन घण्टाको दूरी उत्तरमा रहेको आयोजनास्थल बेत्रावती– स्याफ्रुबेँसी राजमार्गसँगै रहेका कारण निर्माण सामग्रीलगायत उपकरण ढुवानीमा सहज भएको आयोजनाले जनाएको छ ।

































