काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमै नेपालले २४ अर्ब १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको छ। उद्योग विभागका अनुसार साउनमा कुल १२७ वटा उद्योग दर्ता भएका छन्, जसमा ८१ उद्योग अटोमेटिक रुटबाट र ४६ उद्योग अप्रुभल रुटबाट दर्ता भएका हुन्।
अटोमेटिक रुटबाट साना उद्योगहरू बढी दर्ता भएका छन्, तर लगानी प्रतिबद्धता तुलनात्मक रूपमा कम देखिएको छ—जम्मा ७३ करोड ३० लाख रुपैयाँ। अर्कोतर्फ अप्रुभल रुटमार्फत आएका ४६ उद्योगमा भने २३ अर्ब ३७ करोड रुपैयाँ लगानीको प्रतिबद्धता गरिएको छ।
साउनमा मात्र दर्ता भएका उद्योगहरूले करिब ८ हजार २ सय ६८ रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको देखिएको छ। कुल दर्ता भएका उद्योगमध्ये १२५ वटा साना र २ वटा ठूला छन् । मझौला प्रकृतिका उद्योग भने साउनमा दर्ता भएका छैनन्।
एफडीआई प्रतिबद्धताका हिसाबले कृषिक्षेत्र सबैभन्दा अगाडि देखिएको छ। कृषि क्षेत्रमा जम्मा ३ वटा उद्योग दर्ता भएका भए पनि तीबाट २० अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो। तीमध्ये एक भैँसीको मासु प्रशोधन उद्योगका लागि चिनियाँ लगानीकर्ताबाट मात्रै २० अर्बको प्रतिबद्धता आएको छ, जसले एफडीआईको आँकडामा ठूलो उछाल ल्याएको छ। यदि यो उद्योग कार्यान्वयन भयो भने नेपालबाट भैँसीको मासु निर्यातमा ठूलो वृद्धिको सम्भावना रहेको छ।
कृषिबाहेक पर्यटन, सूचना प्रविधि, सेवा, उत्पादन र ऊर्जामा पनि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। दर्ता संख्याका आधारमा सूचना प्रविधिमा ७१ र पर्यटन क्षेत्रमा ४१ उद्योग खुलेका छन्।
उद्योग विभागका अनुसार हालसम्म नेपालमा कुल ७ हजार ३ सय ६६ उद्योग दर्ता भएका छन्, जसबाट एफडीआई प्रतिबद्धता ६ खर्ब ७५ अर्ब ५२ करोड ७१ लाख १२ हजार १ सय ५ रुपैयाँ पुगेको छ।




































