काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्योग, व्यवसाय, निर्माण, पर्यटन, कृषि, स्वास्थ्य तथा पूर्वाधार क्षेत्रमा सक्रिय व्यवसायी तथा उद्यमीहरूको उल्लेख्य सहभागिता देखिएको छ। विभिन्न व्यावसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय उद्योगी–व्यवसायीहरूले पार्टीका विभिन्न तहका केन्द्रीय पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेस महाधिवेशनमा पूर्वसांसद तथा उद्योगी विनोद चौधरीले समावेशीतर्फ केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिएका छन्। चौधरी उद्योग तथा व्यापार क्षेत्रमा स्थापित व्यवसायी हुन्।
त्यस्तै, मेडिकल व्यवसायी सुनील शर्माले खुलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। शर्मा स्वास्थ्य तथा मेडिकल व्यवसायमा सक्रिय छन्।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा निर्माण व्यवसायी बहादुरसिंह लामा (तामाङ)ले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। उनी हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीका संस्थापक हुन्।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनी बानियाँ निर्माण सेवाका संस्थापक हुन्। निर्माण व्यवसायसँगै उनी यसअघि संघीय सरकारमा गृह राज्यमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
व्यवसायी अनिल रुंगटाले मधेशी खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। रुंगटा स्टिल, पूर्वाधार, जलविद्युत् तथा खाद्यान्नलगायत विभिन्न व्यावसायिक क्षेत्रमा आबद्ध छन्। उनी यसअघि समानुपातिकतर्फबाट सांसदसमेत भइसकेका छन्।
रसुवाका प्रतिनिधिसभा सदस्य तथा व्यवसायी मोहन आचार्यले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। इन्जिनियरिङ पृष्ठभूमिका आचार्य रसुवा कन्स्ट्रक्सन कम्पनीका संस्थापक हुन्।
युवा पर्यटन व्यवसायी प्रेमकुमार खत्रीले खसआर्यतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनी पर्यटन व्यवसायमा सक्रिय छन् र गोरखाबाट महाधिवेशन प्रतिनिधिका रूपमा आएका हुन्।
झापाका चिया व्यवसायी छत्रबहादुर गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनी चिया उत्पादन तथा निर्यात व्यवसायमा सक्रिय छन्। गिरीको व्यावसायिक गतिविधि विशेषगरी कृषि तथा चिया उद्योगसँग जोडिएको छ।
स्याङ्जाका मेडिकल व्यवसायी खुमाप्रसाद अर्यालले भूगोलतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनी स्वास्थ्य तथा मेडिकल व्यवसायमा आबद्ध छन्।
निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहले आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। सिंह निर्माण व्यवसाय तथा पूर्वाधार क्षेत्रमा सक्रिय छन्।
कास्कीका व्यवसायी तिलक रानाभाटले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनी यसअघि विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। हाल कांग्रेस महाधिवेशनमा उनी भोजन व्यवस्थापन समितिको संयोजकको भूमिकामा छन्।
युवा उद्यमी किरण केसीले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। कास्की–२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित केसी बैंकिङ, बिमा, जलविद्युत् तथा निर्माण क्षेत्रमा सक्रिय छन्। उनी केसी ग्रुप अफ कम्पनीजका निर्देशक हुन्।
कांग्रेसको १५औँ महाधिवेशनमा उद्योगी तथा व्यवसायी पृष्ठभूमिका उम्मेदवारहरूको सहभागिताले पार्टीको केन्द्रीय नेतृत्व चयन प्रक्रियामा निजी क्षेत्र तथा व्यावसायिक क्षेत्रको प्रतिनिधित्वसमेत देखिएको छ। उद्योग, निर्माण, पर्यटन, कृषि, स्वास्थ्य, जलविद्युत् तथा वित्तीय क्षेत्रमा सक्रिय व्यक्तिहरूले उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यजस्ता विभिन्न पदमा उम्मेदवारी दिएका छन्।


































