राष्ट्रिय बीमा कम्पनीका सिईओ शेखर बरालले आफूलाई काम गर्न सहज वातावरण नभएको भन्दै नियमित काममा जान नपाएको गुनासो गरेका छन् । आन्दोलनरत कर्मचारीहरूको अवरोधका कारण आफँु दैनिक कामकाजमा जान नसकेको बरालले बताए ।
उता कम्पनीका सिईओ बरालले आफुँलाई कार्यालय नआउन कर्मचारीहरूले धम्की दिएको बताएका छन् ।
बिगत १५ दिनदेखी कर्मचारी संगठनको आह्वानमा कम्पनीका कर्मचारीहरूले आन्दोलन गरेका छन् । २०७९ असोज ४ गते माग पत्र पेस गरेकोमा माग पुरा नभएपछि कर्मचारी संगठन पुनः आन्दोलनमा उत्रिएको राष्ट्रिय बीमा कम्पनी वित्तीय कर्मचारी संघका अध्यक्ष दीपकराज पाण्डेले बताए ।
उनका अनुसार गत वर्षको साउन १ गतेबाट पूर्ण कार्यान्वयनमा ल्याउने सहमति भए पनि कार्यान्वयनमा व्यवस्थापनले चासो नराखेको भन्दै कर्मचारीले असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रमको घोषणा गरेका हुन् । पहिलो चरणमा सबै कर्मचारीले ७ दिन कालोपट्टी बाँधेर काम गरेको, दोस्रो चरणमा सबै कर्मचारीले दिन कालोपट्टी बाँधेर काम गर्ने तथा सिइओ कार्यालय अगाडि धर्ना दिएको पाण्डेको भनाई छ ।
वस्तुगत रूपमा तत्कालै आफूहरूले पाउनुपर्ने सुविधा ६ वर्ष सम्म पनि नपाउँदा बाध्य भएर आन्दोलन गर्नुपरेको ट्रेड युनियनका उपाध्यक्ष सबिन पौडेलले बताए । आफ्नो प्रतिवद्धतामा अडिन नसक्ने, आफ्नो अधिकार बुझ्न नसक्ने, कर्तव्यबाट च्युत भएको नेतृत्वको छत्रछायाँमा रही संस्थागत उन्नती प्रगतिको लागि कार्य गर्न कठिन भएको भन्दै कर्मचारीहरू आन्दोलन गर्न बाध्य भएको पौडेलको भनाई छ ।
कर्मचारीहरूलाई पटक पटक आश्वासन दिने तर ठोस नतिजा नदिने गैर पेसागत प्रवृत्ति र नेतृत्वलाई जिम्मेवार बोध गराउन तथा कम्पनीको विद्यमान नीति नियमहरूको पूर्ण कार्यान्वयन र परिचालन गराउन दबाब दिनु पर्ने वाध्यात्मक परिस्थिति सिर्जना गरेका कारण दोस्रो चरणको आन्दोलन गरेको पौडेलले बताएका छन् । यसरी पनि आफूहरूको माग पुरा नभए तेस्रो चरणको आन्दोलन गर्न पछि नपर्ने कर्मचारीहरूले बताएका छन् ।


































