National life
cg eloctronics

बीमा गराएका हजारौँले छाडे पोलिसी, आखिर किन बढ्दैछ सरेन्डर?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१३ दिन अगाडि|२८ कात्तिक २०८३, शनिबार
1.8kShares
बीमा गराएका हजारौँले छाडे पोलिसी, आखिर किन बढ्दैछ सरेन्डर?
muktinatha bikash bank

काठमाडौँ । जीवन बीमा कम्पनीहरूमा बीमालेख समर्पण (सरेन्डर) गर्ने प्रवृत्ति बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै बीमितले ३ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ बराबरका बीमालेख समर्पण गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५० प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म २३ हजार ७९५ वटा जीवन बीमालेख समर्पण भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा २२ हजार ९९९ वटा बीमालेख समर्पण भएका थिए। यसरी बीमालेख समर्पण गर्ने संख्या पनि ३.४६ प्रतिशतले बढेको छ।

everest bank

बीमालेख समर्पणको संख्या र रकम दुवै बढ्नुले बीमितले बीमा अवधि पूरा नहुँदै आफ्नो पोलिसीबाट बाहिरिने क्रम बढेको देखाउँछ। अझ समर्पण हुने बीमालेखको संख्याभन्दा भुक्तानी रकमको वृद्धिदर उच्च हुनुले बीमा कम्पनीमाथि वित्तीय दबाबसमेत बढ्न सक्ने संकेत गरेको छ।

व्यतीत बीमालेखमा भने १६.७० प्रतिशतको गिरावट

सरेन्डर बढिरहेको अवस्थामा समयमा बीमाशुल्क भुक्तानी नगर्दा व्यतीत (ल्याप्स) हुने बीमालेखको संख्यामा भने उल्लेख्य सुधार देखिएको छ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १० लाख १६ हजार ७१२ वटा बीमालेख व्यतीत भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १२ लाख २० हजार ५४८ थियो। यसअनुसार व्यतीत बीमालेखको संख्या १६.७० प्रतिशतले घटेको छ।

रकमका आधारमा पनि व्यतीत बीमालेखमा सामान्य कमी आएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म ३६ अर्ब ७८ करोड ६७ लाख रुपैयाँ बराबरका बीमालेख व्यतीत भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३६ अर्ब १३ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ। यो १.७८ प्रतिशतको गिरावट हो।

बीमा बजारमा देखियो दोहोरो प्रवृत्ति

बीमालेख व्यतीत हुने संख्या घट्नुले बीमा निरन्तरतामा सकारात्मक संकेत गरे पनि सरेन्डरको बढ्दो क्रमले जीवन बीमा बजारमा चुनौती कायमै रहेको देखाउँछ। एकातिर बीमितले नियमित बीमाशुल्क तिरेर बीमालेख निरन्तरता दिने प्रवृत्ति सुधारिँदै गएको छ भने अर्कोतिर अवधि पूरा हुनुअघि नै पोलिसी त्याग्ने क्रम बढिरहेको छ।

बीमितको आर्थिक अवस्था, बीमा खरिद गर्दाको वित्तीय योजना, बीमासम्बन्धी पर्याप्त जानकारीको अभाव तथा अभिकर्ताबाट प्राप्त परामर्शलगायत पक्षले बीमालेख समर्पण गर्ने निर्णयलाई प्रभावित गर्न सक्छन्।

कम्पनीलाई नयाँ व्यवसायसँगै पुराना बीमित जोगाउने चुनौती

जीवन बीमा कम्पनीहरूका लागि नयाँ बीमालेख बिक्री र व्यवसाय विस्तार गर्नु जति महत्वपूर्ण छ, पुराना बीमितलाई बीमालेखमा टिकाइराख्नु पनि उत्तिकै चुनौतीपूर्ण बन्दै गएको छ।

बीमितको आवश्यकता र भुक्तानी क्षमताअनुसार बीमा योजना बिक्री गर्ने, बीमालेखका सर्त तथा लाभबारे स्पष्ट जानकारी दिने र आर्थिक कठिनाइमा परेका ग्राहकलाई उपलब्ध विकल्पबारे परामर्श दिने व्यवस्था प्रभावकारी बनाउनुपर्ने देखिन्छ।

समग्रमा, बीमालेख समर्पणको रकम र संख्या बढ्नु तथा व्यतीत बीमालेखको संख्या घट्नुले जीवन बीमा बजारको अवस्था मिश्रित रहेको देखाउँछ। बीमा क्षेत्रप्रति विश्वास कायम राख्न कम्पनीहरूले नयाँ ग्राहक भित्र्याउने मात्र नभई विद्यमान बीमितको बीमा निरन्तरता सुनिश्चित गर्ने रणनीतिमा समेत ध्यान दिनुपर्ने देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?