काठमाडौं । नेपाल बीमक संघले रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट क्षति पुगेका घर, भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य बीमित सम्पत्तिको यथाशीघ्र बीमा दाबी गर्न आग्रह गरेको छ।
संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। संघले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।
भोटेकोशी बाढीका कारण नागरिक तथा व्यवसायीका घर, भवन, सवारीसाधन, उद्योग–व्यवसायलगायत विभिन्न सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै संघले बीमा क्षेत्र प्रभावित बीमित तथा सर्वसाधारणको साथमा रहेको जनाएको छ।
संघले बीमा गरिएको सम्पत्ति, सवारीसाधन, व्यवसाय वा अन्य बीमित सम्पत्तिमा क्षति पुगेका बीमितलाई सम्बन्धित बीमा कम्पनीमा यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ। बीमा दाबी भुक्तानी प्रक्रियामा आवश्यक सहजीकरण गरिदिन पनि संघले बीमितहरूलाई अनुरोध गरेको छ।
त्यस्तै, प्रभावित बीमितलाई दाबी प्रक्रियामा आवश्यक सहजीकरण तथा सहयोग गर्न सम्बन्धित बीमा कम्पनीहरूलाई समेत संघले आग्रह गरेको छ। संघले विपद्बाट प्रभावित बीमितको क्षतिको यथाशीघ्र मूल्यांकन तथा दाबी फर्छ्योट प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।
“यस कठिन घडीमा बीमितहरूको क्षतिको यथाशीघ्र मूल्यांकन तथा दाबी फर्छ्योट प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन संघले आवश्यक समन्वय गर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
नेपाल बीमक संघले प्रभावित नागरिक तथा व्यवसायीहरूसँगै रहेको प्रतिबद्धता पनि व्यक्त गरेको छ। संघका अध्यक्ष अशोककुमार खड्का, उपाध्यक्ष वीरेन्द्र बैदवार क्षेत्री र महासचिव सुनिल वल्लभ पन्तले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन्। यसअघि बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरुलाई डेडिकेट टीम बनाएर बीमा दाबी भुक्तानी गर्न भनिसकेको छ ।



































