काठमाडौँ । गत वर्षको जेन्जी आन्दोलन र चालु आर्थिक वर्षको भदौ १० गते गएको बाढीका कारण सिर्जित प्रतिकूल परिस्थितिका बाबजुद निर्जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्थामा उत्साहजनक सुधार देखिन थालेको छ। एकपछि अर्को प्राकृतिक तथा बाह्य चुनौतीको सामना गरिरहेका कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्म आइपुग्दा अधिकांश कम्पनीहरूले आफ्नो नाफा–घाटाको स्थितिमा उल्लेखनीय सुधार गरे पनि समग्र क्षेत्र अझै घाटामै रहेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार यस अवधिमा निर्जीवन बीमा क्षेत्रको समग्र खुद घाटा घटेर १ अर्ब २७ करोड ४६ लाख रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १४ वटै कम्पनीको कुल खुद घाटा १ अर्ब ७३ करोड ७७ लाख ७६ हजार रुपैयाँ रहेको थियो।
घाटाबाट नाफामा फर्किए राष्ट्रिय बीमा र शिखर इन्स्योरेन्स
कम्पनीगत प्रदर्शनमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा उत्कृष्ट छलाङ मारेको छ। गत वर्षको असोजसम्म ९ करोड ९५ लाख ९ हजार रुपैयाँ घाटामा रहेको यस कम्पनीले चालु आवको सोही अवधिमा अभूतपूर्व सुधार गर्दै २८ करोड ३० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
त्यस्तै, निजी क्षेत्रको अग्रणी शिखर इन्स्योरेन्सले पनि आकर्षक पुनरागमन गरेको छ। गत वर्ष १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ घाटा व्यहोरेको शिखरले चालु वर्षको पहिलो त्रैमासमा ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
प्रभुको नाफा बढ्यो, अन्य तीन कम्पनी पनि नाफामा
निरन्तर नाफामा रहेको प्रभु इन्स्योरेन्सले आफ्नो वृद्धिदरलाई कायमै राखेको छ। गत वर्ष ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको प्रभुले चालु वर्षमा ५.८० प्रतिशतको वृद्धिसहित ६ करोड ६८ लाख १ हजार रुपैयाँ खुद नाफा पुर्याएको छ।
यसैगरी, एनएलजी इन्स्योरेन्सले ३ करोड ५३ लाख ४३ हजार रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ३ लाख २४ हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
८ कम्पनीको नाफा अझै ऋणात्मक
अर्कोतर्फ, समग्र क्षेत्र सुधारोन्मुख देखिए पनि बाढीको क्षति र दाबी भुक्तानीको चापका कारण ८ वटा निर्जीवन बीमा कम्पनीको नाफा अझै ऋणात्मक (घाटामा) रहेको छ।
तथ्याङ्कअनुसार युनाइटेड अजोड इन्स्योरेन्स ५ करोड २९ लाख ८४ हजार रुपैयाँ, नेको इन्स्योरेन्स ८ करोड १८ लाख ७१ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १६ करोड १५ लाख ५६ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्स २० करोड ४७ लाख २ हजार रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्स २० करोड ९८ लाख ३२ हजार रुपैयाँ घाटामा छन्।
त्यसैगरी, गत वर्षको सोही अवधिमा २० करोड २ लाख ३ हजार रुपैयाँ घाटामा रहेको सानिमा जिआईसी इन्स्योरेन्सको घाटा चालु आवमा बढेर २९ करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ भने द ओरिएन्टल इन्स्योरेन्स ३२ करोड ६० लाख ९१ हजार रुपैयाँ घाटामा रहेको छ।
यस अवधिमा सबैभन्दा कमजोर वित्तीय अवस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सको देखिएको छ। गत वर्षको असोजसम्म १० करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफामा रहेको हिमालयन एभरेष्ट चालु आर्थिक वर्षको सोही अवधिमा ४० करोड ११ लाख रुपैयाँ घाटामा पुगेको छ।
यद्यपि, अघिल्लो वर्षको तुलनामा समग्र क्षेत्रको कुल घाटा उल्लेख्य रूपमा घट्नु र प्रमुख कम्पनीहरू नाफामा फर्किनुले आगामी त्रैमासहरूमा निर्जीवन बीमा क्षेत्र थप सबल बन्दै जाने देखिएको छ।
































