National life

चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री : प्रविधि, ज्ञान र लगानीमार्फत नेपाललाई अघि बढाउन आग्रह

मन्त्री खनालले सरकारले चुनावी प्रतिबद्धताअनुसार सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको उल्लेख गरे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|३१ जेठ २०८३, आइतबार
1.8kShares
चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री : प्रविधि, ज्ञान र लगानीमार्फत नेपाललाई अघि बढाउन आग्रह
ncell

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित नेपाली डायस्पोरासँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै सुशासन, आर्थिक समृद्धि र प्रवासी नेपालीको भूमिकाबारे विस्तृत धारणा राखेका छन्।

मन्त्री खनालले छोटो सूचनाका आधारमा समेत ठूलो सङ्ख्यामा नेपाली समुदाय उपस्थित भएकोप्रति आभार व्यक्त गर्दै आफ्नो चीन भ्रमणकै पहिलो दिन प्रवासी नेपालीसँग भेट गर्न पाएको बताए। उनले कार्यक्रमलाई औपचारिकभन्दा बढी अन्तरक्रियात्मक बनाउने प्रयास गरेको उल्लेख गर्दै सहभागीहरूको अनुभव सुन्न आफू इच्छुक रहेको बताए।

उनले चीनमा अध्ययन, अनुसन्धान, व्यवसाय र प्रविधि क्षेत्रमा कार्यरत नेपालीहरूले नेपालको प्रतिनिधित्व गरिरहेको भन्दै उनीहरूको योगदानले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बढाउन मद्दत पुगेको धारणा व्यक्त गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुशासन र भ्रष्टाचार छानबिनमा जोड

मन्त्री खनालले सरकारले चुनावी प्रतिबद्धताअनुसार सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको उल्लेख गरे। उनका अनुसार २०६३ सालपछि भएका ठूला भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरूको छानबिनका लागि कार्यदल गठन गरी प्रक्रिया अघि बढाइएको छ।

उनले सार्वजनिक सेवा प्रवाहलाई सरल र प्रविधिमैत्री बनाउने प्रयास भइरहेको जानकारी दिँदै पासपोर्ट, नागरिकता, जग्गा दर्ता जस्ता सेवाहरूलाई डिजिटाइजेसनमार्फत सहज बनाउने लक्ष्य रहेको बताए।

विदेशमा रहेका नेपालीहरूको समस्या समाधानका लागि ‘मोफा मित्र’ नामक मोबाइल एप सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उनले उक्त प्रणालीमार्फत दूतावाससँग प्रत्यक्ष समन्वय गरी समस्या समाधानको प्रयास हुने बताए।

आर्थिक समृद्धि र रोजगारी चुनौती

मन्त्री खनालले नेपाल आर्थिक चुनौतीको गम्भीर अवस्थामा रहेको भन्दै रोजगारी सिर्जनालाई प्रमुख राष्ट्रिय एजेन्डा बनाउनुपर्ने बताए। उनका अनुसार हरेक वर्ष करिब २–३ हजार नेपाली रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ भने स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन।

उनले वार्षिक पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने अनुमान गर्दै वर्तमान अवस्थामा ३० देखि ६० हजार रोजगारी मात्र सिर्जना हुन सकिरहेको तथ्य प्रस्तुत गरे। यसले ठूलो रोजगार घाटा सिर्जना गरेको भन्दै उनले यो समस्या सरकार मात्र नभई राष्ट्रिय चुनौती भएको बताए।

नेपाल अहिले जनसाङ्ख्यिक लाभांशको अवस्थामा रहेको उल्लेख गर्दै उनले आगामी दुई दशकपछि वृद्ध जनसङ्ख्या बढ्ने भएकाले अहिलेको समयलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।

प्रवासी नेपालीलाई आह्वान

मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनले गैरआवासीय नेपालीहरूको योगदानबिना छोटो समयमा आर्थिक समृद्धि सम्भव नहुने बताए।

उनले चीनसहित विभिन्न मुलुकमा रहेका नेपालीहरूको अनुभवले व्यापार, प्रविधि र पर्यटन क्षेत्रमा नेपाललाई ठूलो फाइदा पुर्‍याउन सक्ने उल्लेख गरे।

उनका अनुसार नेपाल–चीन व्यापार घाटा ठूलो भए पनि प्रवासी नेपालीको ज्ञान र नेटवर्क प्रयोग गरेर यसलाई कम गर्न सकिने सम्भावना छ।

गैरआवासीय नेपाली नागरिकता र लगानीसम्बन्धी विषयमा पनि उनले सहभागीहरूको सुझाव आवश्यक रहेको बताए।

नेपाल निर्माणमा सामूहिक योगदानको आग्रह

मन्त्री खनालले नेपाल र चीनबीचको भौगोलिक तथा सांस्कृतिक निकटतालाई अवसरका रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गरे। उनले प्रवासी नेपालीलाई नेपाल विकास अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्दै भने, “नेपाल एकै दिनमा बन्न सक्दैन, यो सामूहिक प्रयासबाट मात्र सम्भव छ।”

कार्यक्रममा विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था, व्यवसाय र प्रविधि क्षेत्रमा कार्यरत नेपालीहरूको उपस्थिति रहेको थियो। मन्त्री खनालले उनीहरूको सुझाव र अनुभवलाई नीतिनिर्माणमा समेट्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?