काठमाडौँ । कोरोना महामारी, मूल्यवृद्धि र आर्थिक मन्दीले सुस्ताएको सुनचाँदीको कारोबार चाडपर्वका बेला बिस्तारै बढ्न थालेको छ ।सुनचाँदी कारोबारको मुख्य ४ सिजन – तिज, विवाहको समय, दसैँ र तिहारको माहोलमा सुनको व्यापार केही बढेको व्यावसायीहरु बताउँछन् ।
यस पटक दसैँ र तिहारको समयमा दैनिक १० किलोग्राम भन्दा बढी सुन कारोबार हुन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । विश्वव्यापी रूपमा बढेको मूल्य, आर्थिक मन्दी तथा कोरोनाका घटेको सुनचाँदीको कारोबार चाडपर्वका कारण केही मात्रामा बढेको उनको भनाई छ ।
‘भुकम्पले थला परेपछी उठ्न लागेको बेला कोरोना, कोरोनाले उठ्नै लाग्दा आर्थिक मन्दी जस्ता समस्याले सेलाएको थियो, अहिले केही मात्रामा भए पनि बढेको छ ।’ उनले भने । अघिल्ला वर्षको तुलनामा अहिले ३५ प्रतिशत मात्रै व्यापार भएको शाक्यको भनाई छ ।
तिहारको समयमा उपभोक्ताले धन सम्पत्ति जोड्ने भएकाले बजार मागसमेत केही बढेकोे शाक्यको भनाई छ । तिहार आउनै लाग्दा धनतेरस र लक्ष्मीपूजाको दिन झनै सुनचाँदीको कारोबार बढ्छ । उपभोक्ताले धनतेरस र लक्ष्मीपूजामा सुनचाँदी जोडेमा वर्षभरि धन आर्जन हुने विश्वास रहेको छ ।
चाडपर्वको समयमा सुनसँगै चाँदीको कारोबार समेत बढ्नुपर्ने भएतापनी यस वर्ष तिहारमा काँचो सुन किन्नेको सङ्ख्यामा कमी आएको शाक्यको भनाई छ । आर्थिक मन्दीको प्रभाव र सुनको मुल्यवृद्धीका कारण धेरैजसो उपभोक्ताले पुरानो सुन लिएर त्यसैलाई मर्मत गरी लैजाने गरेको उनले बताए ।
दैनिक रुपमा १० किलोग्रामभन्दा बढी सुनको कारोबार भए पनि अघिल्ला वर्षहरूको तुलनामा सुनको कारोबार घटेको महासङ्घले जनाएको छ । महासंघका अध्यक्ष शाक्यका अनुसार गत वर्षको यही समयमा दैनिक ३० किलोग्रामभन्दा धेरै सुन खपत हुन्थ्यो । यसबाहेक, सुनको मूल्य १ लाख रुपैयाँ प्रतितोला हुँदा दैनिक ४० देखि ५० किलोग्रामसम्म कारोबार हुन्थ्यो । पछिल्लो समय सुनको मूल्य बढ्दै जाँदा अघिल्ला वर्षहरूको तुलनामा कारोबार समेत घटेको महासंघका अध्यक्ष शाक्यले बताए ।
तिहारमा सुनभन्दा चाँदी धेरै खपत हुने उनको भनाई छ । यो समयमा उपभोक्ताले पूजाआजाका लागि चाँदीको सामाग्री किन्ने गर्छन् । सोही कारण, पछिल्लो समय दैनिक ६०० किलोग्रामभन्दा धेरै चाँदी बिक्न थालेको शाक्यको भनाई छ । पछिल्लो समय चाँदीको कारोबार राम्रो भएको बताए । यस वर्षको तिहारमा सुन भन्दा चाँदी किन्ने ग्राहक धेरै भएको उनको भनाई छ ।
केहि दिनयता नेपाली बजारमा लगातार घटेको सुनको मूल्य आज शुक्रवार फेरी बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १४ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ मूल्य कायम भएको छ ।
भन्सारमा समस्या
विदेशमा बस्ने नेपालीहरुले नेपाली गरगहना मन पराएर विदेश लगेको खण्डमा नेपाल फर्किदा ती गहनाको भन्सार पुनः तिर्नुपर्ने विडम्बना रहेको शाक्यले बताए । एक पटक भन्सार तिरिसकेको गहनाको नेपालको गहना हुँदा हुँदै पनी फेरी भन्सार तिर्नुपर्दा विदेशमा रहेका नेपालीहरुको आकर्षण घट्न थालेको उनको भनाई छ।



































