यी हुन् प्रचलनमा रहेका विद्युतीय चुलोका प्रकार
ग्यास अभावसँगै विद्युतीय चुलोको प्रयोग बढ्दै जाँदा बजारमा उपलब्ध चुलोबारे जानकारी राख्नु पनि उपभोक्ताका लागि आवश्यक बन्दै गएको छ। नेपाली बजारमा अहिले Baltra, Yasuda, Prestige, Philips, Ageno, CG जस्ता ब्राण्डका चुलोहरू सजिलै पाइन्छन् । नेपालमा इन्फ्रारेड र इन्डक्सन चुलो बढी प्रचलनमा छन् ।
इन्डक्सन चुलो
सबैभन्दा लोकप्रिय प्रकार इन्डक्सन चुलो हो। यसमा चुम्बकीय प्रविधिको प्रयोग गरी भाँडोमै सिधै ताप उत्पन्न गरिन्छ, जसले गर्दा ऊर्जा बचत हुने र खाना छिटो पक्ने हुन्छ।
इन्फ्रारेड चुलो
त्यसैगरी, इन्फ्रारेड (ह्यालोजन) चुलो पनि बजारमा पाइन्छ। यसमा ताप उत्पादन गर्न रेडिएसनको प्रयोग गरिन्छ र कुनै पनि प्रकारका भाँडा प्रयोग गर्न सकिन्छ। इन्डक्सनभन्दा केही बढी विद्युत खपत हुने भए पनि यसको प्रयोग सजिलो हुने भएकाले धेरैले रोज्ने गरेका छन्।
अर्को प्रकार सिरामिक चुलो हो, जसमा माथिल्लो भाग समथर काँचजस्तो हुने र भित्रको हीटिङ एलिमेन्टमार्फत ताप उत्पन्न हुने गर्छ। यसको डिजाइन आकर्षक हुने र सफा गर्न सजिलो हुने भए पनि मूल्य तुलनात्मक रूपमा महँगो पर्न सक्छ।
इन्फ्रारेड राम्रो कि इन्डक्सन राम्रो ?
उपभोक्ताहरूबीच अझै पनि एउटा प्रश्न यथावत् छ : इन्डक्सन राम्रो कि इन्फ्रारेड ? यस प्रश्नको उत्तर “यो नै राम्रो” भन्नेभन्दा पनि प्रयोग, आवश्यकता र प्राथमिकतामा निर्भर हुन्छ । यी दुई चुलोका विशेषता बुझ्दा छनोट सजिलो हुन्छ । त्यसैले आउनुहोस् यीनीहरुको विशेषता बुझौँ।
तापक्रम र खाना पकाउने आधारमा
छिटो खाना पकाउने हिसाबले इन्डक्सन अगाडि देखिन्छ । यसले छोटो समयमा उच्च ताप दिन सक्छ, जसले झोलयुक्त परिकार छिटो पकाउन सजिलो बनाउँछ । तर ताप मुख्यतया बीच भागमा केन्द्रित हुने भएकाले कहिलेकाहीँ खाना राम्ररी नपाक्ने वा बढी पाक्ने हुनसक्छ।
इन्फ्रारेडमा भने ताप क्रमशः बढ्दै जान्छ र समान रूपमा फैलिन्छ । यसले ग्यास चुलोजस्तै अनुभव दिने भएकाले धेरैलाई प्रयोग गर्न सहज लाग्छ, विशेष गरी फ्राइ वा रोस्ट गर्ने खाना बनाउन यो बढी उपयुक्त हुन्छ।
भाँडाको प्रयोगका आधारमा
इन्डक्सनमा फलाम वा स्टेनलेस स्टिलका भाँडा मात्र प्रयोग गर्न मिल्छ । अन्य भाँडा काम लाग्दैनन् । इन्फ्रारेडमा भने कुनै पनि प्रकारका भाँडा प्रयोग गर्न सकिन्छ, जुन यसको ठूलो फाइदा हो ।
बिजुली खपतका आधारमा
दुवै चुलो करिब २००० वाट क्षमताका हुन्छन् । तर इन्डक्सनले सिधै भाँडा तताउने भएकाले तुलनात्मक रूपमा कम बिजुली खर्च गर्छ । इन्फ्रारेडमा केही बढी ऊर्जा खपत हुने देखिन्छ ।
सुरक्षाका हिसाबले
सुरक्षाको हिसाबले इन्डक्सन अलि बढी सुरक्षित मानिन्छ । भाँडा नराख्दा चल्दैन र हटाउँदा आफैं बन्द हुन्छ ।
इन्फ्रारेड भने बन्द गरेपछि पनि केही समयसम्म तातो रहन्छ, जसले विशेष गरी बालबालिकाका लागि जोखिम बढाउन सक्छ ।
स्वास्थ्य र रेडियसनका आधारमा
इन्फ्रारेड चुलोमा चुम्बकीय विकिरण हुँदैन । इन्डक्सनमा भने केही मात्रामा चुम्बकीय प्रभाव हुने भएकाले विशेष गरी मुटुका बिरामीले सावधानी अपनाउनुपर्ने सुझाव दिइन्छ ।
सरसफाइ र टिकाउपनका आधारमा
इन्डक्सन चुलो सफा गर्न सजिलो हुन्छ, किनभने यसको सतह धेरै तात्दैन । टिकाउपनको हिसाबले इन्फ्रारेड लामो समय (झण्डै १० वर्ष) टिक्न सक्छ भने इन्डक्सन औसतमा ५ वर्षसम्म चल्ने बताइन्छ ।
मूल्य र समग्र खर्चका आधारमा
इन्फ्रारेड चुलोको मूल्य अलि बढी हुन सक्छ । तर इन्डक्सन प्रयोग गर्न छुट्टै उपयुक्त भाँडा किन्नुपर्ने भएकाले कुल खर्च जोड्दा इन्डक्सन पनि महँगो पर्न सक्छ । यदि तपाईंलाई छिटो खाना पकाउने, कम बिजुली खर्च र सुरक्षित विकल्प चाहिएको छ भने इन्डक्सन उपयुक्त हुन सक्छ ।
तर ग्यासजस्तै अनुभव, सबै भाँडामा पकाउने सुविधा र समान ताप चाहिन्छ भने इन्फ्रारेड राम्रो विकल्प हुन सक्छ । अन्ततः, “कुन राम्रो” भन्दा पनि “तपाईंको प्रयोगका लागि कुन उपयुक्त” भन्ने आधारमा निर्णय गर्नु नै बुद्धिमानी हुन्छ ।



































