काठमाडौँ । अनलाइन जुवा खेलाउने अखडा बनाएर बसेको २३ जना भारतीय नागरिकलाई काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले छापामारी पक्राउ गरेको छ।
गए राति गरेको 'सर्च' अभियानका क्रममा बुढानीलकण्ठ नगरपालिका–३ स्थित एक घर भाडामा लिएर अनलाइन जुवा खेलाउने गरेको उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार उनीहरूको साथबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप र ८१ हजार नगद बरामद गरिएको जानकारी दिएका छन् ।
उनीहरूलाई आज बिहानसम्म छापा मारेर पक्राउ गरिएको र अहिले अनुसन्धानकै क्रममा रहेको उनको भनाई छ ।
साथै, डिभाइस परीक्षण हुन बाँकी भएकाले यकिन कुरा खुलिनसकेको बोहराको भनाई छ । उनीहरूमाथि सट्टेबाजी कसुरमा म्याद थपको तयारी गरिएको छ।

































