काठमाडौं । एनसेल शेयर खरिद–विक्री प्रकरणको छानविन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन बुझाएको छ । समितिले २ महिना लामो अध्ययन र छानविनपछि प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।. जसमा पटकपटक एनसेलको शेयर खरिदबिक्री हुँदा राज्यका कतिपय निकायहरुले आफ्नो जिम्मेवारी पालना नगरेकाले थप छानबिन गर्न सिफारिस गरिएको छ ।
समितिले पटकपटक शेयर खरिदबिक्रीका क्रममा स्रोत नखुलेको सम्पत्ति प्रयोग भएको आशंका गर्दै संलग्नहरुमाथि सम्पत्ति शुद्धीकरणको पाटोमा अनुसन्धान गर्न सिफारिस गरेको छ । साथै कानुन विपरितका क्रियाकलापमा सहजीकरण गरिदिनेहरुमाथि छानबिन गरी दोषी देखिए भ्रष्टाचारको आरोपमा अनुसन्धान अघि बढाउन उपयुक्त हुने सुझाव दिएको हो ।
उक्त समितिको संयोजक पूर्व लेखापरीक्षक टंकमणि शर्मा रहेका थिए । सदस्यहरुमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले थिए ।
एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिई र प्रक्रिया समेत पुरा नगरी ८० प्रतिशत शेयर खरिद–विक्री गरेको र उक्त खरिद–विक्री अस्वभविक भएको भन्दै सरकारले छानविन समिति बनाएको थियो ।


































