काठमाडौं । एनसेल खरिदबिक्रीविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले छलफलका निमिक्त दुवै पक्षलाई बोलाएको छ ।
मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले पुस १६ गते दुवै पक्षलाई छलफलमा डाकेको हो । सर्वोच्चले विपक्षीको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ ।
स्वतन्त्र सांसद सिंहले एनसेल बिक्री शंकास्पद भएको भन्दै सर्वोच्चमा मंसिर २२ गते मुद्दा दर्ता गरेका थिए ।
एनसेलको ८० प्रतिशत सेयर व्यावसायी सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनीले मंसिर १५ गते खरिद गरेको थियो । संसदको राज्य व्यवस्था समितिमा पनि एनसेलको बिषयमा जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल समितिमा पुगेका छन्। सार्वजनिक लेखा समितिका साथै अर्थ समितिले पनि एनसेल खरिदबिक्रीमा चासो देखाएका छन् ।
सरकारले एनसेलको सेयर बिक्रीका सम्बन्धमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिले अहिले खरिदबिक्रीको अध्ययन गरिरहेको छ । विभिन्न मितिमा पटक पटक पेसीमा चढेपछि सुनुवाई नभएको भएपनि मंगलबार भने न्यायाधीश सिंहको इजलासले सुनुवाई गरेको हो ।































