काठमाडौँ। आज काठमाण्डौं उपत्यका सहित देशभरको मौसम परिवर्तन भएको छ । आज बिहानैदेखि हुस्सुको लाग्नुको साथै अत्यधिक चिसो बढेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसको प्रभावले हाल सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम विभागले जनाएको छ । उपत्यका सहित पश्चिम तराईका थोरै स्थानहरूमा भने बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
मौसमा आएको खराबी केही दिन सुधारको सम्भावना कम भएको र सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै, अत्यधिक चिसो बढेको कारण रोगी, बालबालिका र वृद्धलाई चिसोबाट जोगिन महाशाखाले आग्रह गरेको छ ।



































