काठमाडौं। नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गरेको छ। लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा युवा महोत्सव गर्न लागेको जनाएको छ । आज दिउँसो १ः०० बजेबाट भृकुटीमण्डपमा उक्त महोत्सव सुरू हुने भएको छ ।
कार्यक्रम सहजीकरण टिमका संयोजक माधव ढुंगेलका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहने जानकारी दिएका छन् ।
जसअनुसार प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधारी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धाराणा राख्नेछन्।
‘४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नु हुनेछ, त्यहाँ कन्सर्ट हुन्छ, विभिन्न नाचगान हुन्छ, विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुने छ, झाँकीमा युवाहरू नै सहभागी हुने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा आउनेको मोटरसाइकल र स्कुटर पार्किङको लागि बग्गीखानामा व्यवस्था गरिएको छ भने मिनि र ठूला बसका लागि टुँडिखेल र साना गाडीको लागि रंगशालामा व्यवस्था मिलाइएको छ।


































