काठमाडौँ । क्यानडाको मोन्ट्रियलमा जारी एसोसिएसन अफ कोअपरेटिभ एजुकेटर्स (एसीई) को ‘इन्स्टिच्युट २०२५’ कार्यक्रमको तेस्रो दिन (बुधबार, जुलाई ९) सम्पन्न भएको छ । उक्त दिन विभिन्न ज्ञान आदानप्रदान, सहकार्य र सञ्जाल विस्तारमा कार्यक्रम केन्द्रित बन्यो ।
बिहानको सत्रमा कृषि र शासनसम्बन्धी विषयमा सहकारी दृष्टिकोणबाट गहन छलफल भएको थियो । छलफलमा फ्रान्सेली वाइन सहकारीमा देखिएका नवप्रवर्तन, युरोपेली कृषि सहकारीहरूका जलवायु रणनीति, क्युबेकमा सहकारी हस्तान्तरणको प्रक्रिया र सहनशील खाद्य प्रणाली निर्माणमा सहकारी शासनको भूमिकाजस्ता विषय समेटिएका थिए ।
कार्यक्रमको प्रमुख आकर्षण एसीई को वार्षिक साधारणसभा थियो । त्यसले संस्थालाई नयाँ ऊर्जा र दिशा दिएको एसीईले जनाएको छ। उक्त अवसरमा ए्सीई बोर्डमा तीन नयाँ सदस्य निर्वाचित भएका छन्। क्यानडाकी अनुसन्धानकर्ता, शिक्षिका तथा शासन तालिम प्रशिक्षक नाताली काल्लियो, अमेरिकाका समावेशी परिवर्तनका पक्षधर र रणनीतिकार जोहान म्याथ्युज र नेपालका सहकारी अभियन्ता तथा अन्तर्राष्ट्रिय शान्ति शिक्षाविद् देश मर्दन बस्नेत एसीई को नयाँ नेतृत्वको हिस्सा बनेका हुन्।
एसीई को सहकारी शिक्षालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यमा उनीहरूको प्रतिबद्धतालाई सहर्ष स्वागत गरिएको छ।





































