काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनले संस्थाको वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पूँजी बजार सुधारमा ढिलाइ भएको आरोप लगाएको छ।
युनियनले जारी गरेको प्रेस विज्ञप्तिमा सेबोन स्थापनाको ३३ वर्ष पूरा गरी ३४औँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दै वर्तमान व्यवस्थापनको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। युनियनका अनुसार विगतमा संस्थाले कठिन परिस्थितिमा पनि आफ्नो गरिमा कायम राख्दै आएको भए पनि पछिल्लो समय निर्णय क्षमता कमजोर हुँदा संस्थागत गतिविधि प्रभावित बनेका छन्।
विज्ञप्तिमा संस्थाको वार्षिकोत्सव कार्यक्रमसमेत स्थगित हुनु नेतृत्वको कमजोरीको परिणाम भएको उल्लेख गरिएको छ।
युनियनले पूँजी बजारलाई पारदर्शी, व्यवस्थित र गतिशील बनाउन आवश्यक नीतिगत तथा संरचनात्मक सुधारमा जोड दिँदै आएको भए पनि उच्च व्यवस्थापनबाट अपेक्षित पहल नभएको जनाएको छ। वर्तमान नेतृत्वका कारण संस्थाको प्रशासनिक तथा व्यावसायिक कार्यसम्पादन प्रभावित भएको दाबी पनि गरिएको छ।
विज्ञप्तिमा पूँजी बजार सुधारका लागि दीर्घकालीन रणनीतिक योजना (स्ट्राटेजिक रोडम्याप) आवश्यक रहेको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयन नभए संस्थागत सुधार सम्भव नहुने चेतावनी दिइएको छ।
त्यस्तै, बोर्डको पूर्णकालीन अध्यक्ष लामो समयदेखि रिक्त रहेको उल्लेख गर्दै उक्त पदमा शीघ्र नियुक्ति गर्न सरकारसँग माग गरिएको छ। युनियनले संस्थागत सुशासन, पारदर्शिता र कर्मचारी अधिकार सुनिश्चित गर्न आवश्यक निर्णयहरू सार्वजनिक गरी कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ।
युनियनले सम्पूर्ण सरोकारवालालाई भ्रममा नपरी संस्थागत सुधारका लागि एकजुट हुन पनि आह्वान गरेको छ।

































