National life

सेयर बजारमा पैसा किन आउन छाड्यो ? लगानीकर्ताले देखाए यस्तो कारण

बैंकमा सस्तो ब्याज, अधिक तरलता, तर सेयर बजारमा पैसा छैन– किन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०३ भदौ २०८३, बुधबार
4.2kShares
सेयर बजारमा पैसा किन आउन छाड्यो ? लगानीकर्ताले देखाए यस्तो कारण
ncell

काठमाडौं । पछिल्लो समय सेयर बजारमा आपूर्ति बढ्दै जाँदा माग कमजोर बनेको र लगानीकर्ताको मनोबलसमेत खस्किँदै गएको एक सेयर लगानीकर्ताले बताएका छन् । बजारमा लगानीयोग्य रकमको अभाव, नीतिगत अनिश्चितता र नियामकीय गतिविधिबाट सिर्जित मनोवैज्ञानिक दबाबका कारण लगानीकर्ताहरू थप जोखिम लिनबाट पछि हटेको उनको भनाइ छ ।

आर्थिक भ्वाइससँगको कुराकानीमा ती लगानीकर्ताले बजारमा सुधार ल्याउन सरकार, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए । उनका अनुसार अहिले बजारमा समस्या केवल सेयरको मूल्य घट्नु वा बढ्नुमा सीमित नभई लगानीकर्ताको विश्वास र मनोबलसँग जोडिएको विषय बनेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार पछिल्लो समय बजारमा आपूर्ति बढी र माग कम भएको अवस्था छ । सेयर बेच्न चाहनेको संख्या बढे पनि खरिद गर्ने लगानीकर्ताको उत्साह घट्दा बजारमा दबाब सिर्जना भएको उनको विश्लेषण छ । बजारमा माग सिर्जना हुन नसक्दा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको र त्यसको प्रत्यक्ष प्रभाव कारोबार तथा बजारको समग्र गतिमा परेको उनले बताए ।

‘बजारमा आपूर्ति बढी भयो, माग कम भयो । लगानीकर्ताको मनोबल कमजोर हुँदै गयो । बजार र लगानीकर्तासँग पैसाको अभाव भयो,’ उनले भने, ‘सरकारले आड–भरोसा दिन, बजार सुधार गर्न र बजारमा माग बढाउन आवश्यक काम गर्न सकेन । जुन काम आवश्यक थिएन, त्यो गरियो तर जुन काम आवश्यक थियो, त्यो गरिएन ।’

उनले विशेषगरी पुँजीगत लाभकर बढाउने निर्णयले बजारमा सकारात्मक सन्देश दिन नसकेको बताए । बजार कमजोर रहेको अवस्थामा लगानीकर्ताबाट पुँजीगत लाभकर बढाउन माग नरहेको भन्दै उनले यस्तो निर्णयले बजारको मनोविज्ञान थप नकारात्मक बनाएको दाबी गरे ।

‘यो बेलामा पुँजीगत लाभकर बढाइदेऊ भनेर कुनै लगानीकर्ताको माग थिएन । तर झन् नकारात्मक वातावरण बनाउनका लागि पुँजीगत लाभकर बढाइयो,’ उनले भने ।

त्यसैगरी सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गतिविधि र हल्लाले समेत आम लगानीकर्तामा मनोवैज्ञानिक त्रास सिर्जना गरेको उनको भनाइ छ । वास्तविक कसुरमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही हुनु स्वाभाविक भए पनि त्यसको असर आम लगानीकर्तासम्म पुग्दा बजारमा डरको वातावरण बनेको उनले बताए ।

उनका अनुसार केही व्यक्तिमाथि अनुसन्धान तथा कारबाही अगाडि बढेपछि त्यसलाई लिएर बजारमा व्यापक चर्चा र त्रास फैलियो । त्यसले लगानीकर्तालाई थप सतर्क बनाउँदै जोखिम लिनबाट पछि हटाएको उनको बुझाइ छ ।

‘एक–दुई जना वास्तविक दोषी पक्राउ परे, उनीहरूले कारबाही भोगिरहेका छन् । तर आमनागरिकमा त्यसको त्रास उत्पन्न भयो । धरपकडका कारण मान्छेहरू भागे,’ उनले भने ।

उनले लगानीकर्ताले आफ्नो पैसा कहाँ राख्ने भन्ने निर्णय गर्दा मुख्य रूपमा प्रतिफल र सुरक्षालाई हेर्ने बताए । अहिले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदरसमेत तुलनात्मक रूपमा सस्तो भएको अवस्थामा पनि लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्न नचाहनु बजारप्रतिको विश्वास कमजोर भएको संकेत भएको उनको भनाइ छ ।

‘मान्छेले जोखिम देख्दादेख्दै बैंकबाट ऋण लिएर कसले लगानी गर्छ ? बैंकमा रहेको पैसा सुरक्षित हुन्छ । त्यहाँबाट निकालेर सेयर बजारमा लगानी गर्दा डुब्ने सम्भावना देखेपछि मान्छेहरूले बैंकमै पैसा राखिरहेका छन्,’ उनले भने ।

उनका अनुसार बैंकमा निक्षेप राख्दा निश्चित प्रतिफल र तुलनात्मक रूपमा कम जोखिम हुने भएकाले लगानीकर्ताले सेयर बजारमा ठूलो जोखिम लिनुभन्दा बैंकिङ प्रणालीमै पैसा राख्न रुचाइरहेका छन् । यसले बजारमा तरलता अभावको समस्या मात्र नभई लगानीको विश्वाससम्बन्धी समस्या रहेको देखाउने उनको तर्क छ ।

‘बैंकमा अधिक तरलता छ, ब्याजदर पनि सस्तो छ । तैपनि मान्छेहरूले ऋण लिएर वा आफूसँग जम्मा भएको पैसा सेयर बजारमा हालेका छैनन्,’ उनले भने, ‘लगानीकर्ताले जहिले पनि प्रतिफल र सुरक्षा खोज्छन् ।’

उनले सेयर बजार सुधारमा लगानीकर्तालाई मात्रै दोष दिन नहुने बताए । बजार सञ्चालन र नियमनमा प्रत्यक्ष भूमिका खेल्ने सरकार, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले बजारको समस्या समाधान गर्न आवश्यक पहल नगरेसम्म लगानीकर्ताबाट मात्रै बजार सुधारको अपेक्षा गर्न नसकिने उनको भनाइ छ ।

‘सरकार, नेपाल राष्ट्र बैंक र सेबोनजस्ता सरोकारवाला निकायले बजार सुधारका लागि भूमिका खेल्नुपर्ने हो । उनीहरूले त्यो भूमिका खेलिरहेका छैनन् भने बबुरो लगानीकर्ताले के गर्न सक्छन् ?’ उनले प्रश्न गरे ।

उनका अनुसार बजार सुधारका लागि सबैभन्दा महत्वपूर्ण भूमिका सरकारको हुने भएकाले अर्थमन्त्रीले नै सकारात्मक र ठोस पहल गर्न आवश्यक छ । नीतिगत सुधार, लगानीकर्ताको विश्वास अभिवृद्धि र बजारमा माग सिर्जना गर्ने वातावरण निर्माण गर्न सरकार अग्रसर भएमा बजारमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनले बताए ।

विशेषगरी अर्थमन्त्री स्वर्णिम वाग्ले नियुक्त भएपछि लगानीकर्ताले बजार सुधारका लागि विभिन्न सुझाव दिएको स्मरण गर्दै उनले ती सुझाव कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

‘अर्थमन्त्री स्वर्णिम वाग्ले नियुक्त हुनुभएको केही दिनमै लगानीकर्ताहरूले बजार सुधारका लागि विभिन्न सुझाव दिएका थिए । यी सुधार भए तपाईंको वाहवाही हुन्छ भनेर सुझाव दिइएको थियो,’ उनले भने, ‘तर ती सुझावमध्ये एउटा पनि अर्थमन्त्रीले सुधार गर्न सक्नुभएको छैन ।’

उनका अनुसार सेयर बजार सुधारका लागि सरकारसँग पर्याप्त नीति तथा संयन्त्र भए पनि दृढ इच्छाशक्तिको आवश्यकता छ । सरकारले पूँजी बजारलाई संकटबाट बाहिर निकाल्ने स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न सकेमा बजारमा तत्कालै सकारात्मक मनोविज्ञान निर्माण हुन सक्ने उनको दाबी छ ।

‘सरकार चाह्यो भने मात्रै सेयर बजार सुधारिन्छ । सरकार चाहेन भने कसैको केही लाग्दैन,’ उनले भने, ‘सरकारले पूँजी बजारलाई कसरी उद्धार गर्ने भनेर दृढ इच्छाशक्तिका साथ कदम चाल्यो भने आजको भोलि नै बजारमा एउटा सकारात्मक माहोल सिर्जना हुन्छ ।’

बजारमा सकारात्मक वातावरण बनेपछि त्यसको प्रभाव स्वाभाविक रूपमा माग, कारोबार र लगानीकर्ताको सहभागितामा देखिने उनको भनाइ छ । उनका अनुसार बजारलाई कृत्रिम रूपमा माथि लैजानेभन्दा पनि लगानीकर्ताको विश्वास बढाउने नीतिगत वातावरण निर्माण गर्नु आवश्यक हुन्छ । त्यसपछि बजारले आफ्नै गतिमा अघि बढ्ने उनले बताए ।

उनले सरकारले पूँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा लिएर दीर्घकालीन सुधारमा ध्यान दिनुपर्ने बताए । बजारमा लगानीकर्ताको विश्वास फर्किएमा कारोबार विस्तार हुने, लगानी बढ्ने र सरकारको राजस्वसमेत उल्लेख्य रूपमा बढ्न सक्ने उनको दाबी छ ।

‘बजार सकारात्मक भएपछि बजार स्वचालित भएर जान्छ र बजारले आफ्नो बाटो आफैं समात्छ,’ उनले भने, ‘त्यसो भयो भने सरकारले अहिलेभन्दा पाँच गुणाभन्दा बढी राजस्व प्राप्त गर्न सक्छ ।’

उनका अनुसार सेयर बजार सुधारको अर्थ केवल परिसूचक बढाउनु नभई लगानीकर्ताको विश्वास कायम गर्नु, पारदर्शिता बढाउनु, स्थिर नीति निर्माण गर्नु र बजारमा दीर्घकालीन लगानीको वातावरण सिर्जना गर्नु हो । सरकार तथा नियामक निकायले समन्वयात्मक रूपमा काम गरेमा बजारमा देखिएको नकारात्मक मनोविज्ञान क्रमशः सुधार गर्न सकिने उनको निष्कर्ष छ ।

यो समाचार शेयर गर्नुहोस्
4.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?