काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी निर्णय सार्वजनिक भएको दुई हप्ता पुग्दा पनि धेरै सवारीधनीहरू अझै अनभिज्ञ देखिएका छन्। यातायात व्यवस्था विभागले साउन २० गते नै सूचना प्रकाशित गर्दै सवारी दर्ता, नामसारी र नवीकरण प्रक्रियामा इम्बोस्ड नम्बर प्लेट आवश्यक हुने जानकारी गराएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा साउन २० गते मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको हो।
https://aarthikvoice.com/archives/70787
त्यसपछि विभागले मंगलबार फेरि सूचना जारी गर्दै प्रदेश सरकार अन्तर्गतका सबै यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर जडान गरिनुपर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएको छ।
सूचनामा भनिएको छ, “सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै सवारीधनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरूमा गई हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन जानकारी गराइन्छ।”






































