काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन्।
बैठक सुरु भएपछि विपक्षी सांसदहरू उठेर विरोध जनाए । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने मौका दिए।
पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले छानबिनको दायरामा ल्याएको बताए।
उनले भने, "गृहमन्त्री र उहाँको सचिवालयमाथि आरोप लागेकाले उहाँले पद छाडेर निष्पक्ष छानबिनको बाटो खोल्नुपर्छ। उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद चल्न सक्दैन ।"
पुनको भनाइपछि पनि विपक्षी सांसदहरू उठेपछि सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाललाई बोल्न दिए। खनालले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नसक्ने बताए।
पछि कांग्रेस सांसद श्याम घिमिरे बोल्न थालेसँगै विपक्षीले नाराबाजी सुरु गरे। त्यसपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरे।


































