काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना खातावाल ग्राहकलाई स्थायी लेखा नम्बर (प्यान) यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैंकका अनुसार, “आयकर ऐन २०५८” बमोजिम खाताबाट गरिएको कर कट्टीको विवरण नेपाल सरकारअन्तर्गत आन्तरिक राजस्व विभागको प्यान प्रणालीमा जोडिन आवश्यक भएकाले ग्राहकले प्यान अद्यावधिक गर्नु जरूरी भएको हो।
प्यान अद्यावधिक गर्न बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप 'NIC ASIA MoBank' मा रहेको 'PAN Update' विकल्प प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। साथै, आवश्यक परेमा नजिकको कुनै पनि शाखाबाट पनि आवेदन दिई प्यान अद्यावधिक गर्न सकिनेछ।
बैंकका अनुसार निक्षेपकर्ताको ब्याजमा कर कट्टी गर्दा त्यो विवरण E-TDS प्रणालीमा देखिन प्यान अनिवार्य छ। प्यान अद्यावधिक भएपछि कर विवरण स्वचालित रूपमा आयकरको अनुसूची १० मा मिलान हुने र कर कट्टी तथा कर चुक्ता प्रमाणपत्र लिन सजिलो हुने उल्लेख गरिएको छ।
प्यान अद्यावधिक नगरिएको अवस्थामा E-TDS मा ब्याज कर दाखिला नहुन सक्ने र पछि कर समायोजनमा समस्या आउन सक्ने भएकाले त्यसको जिम्मेवारी बैंकले लिन नसक्ने स्पष्ट गरिएको छ।
यदि ग्राहकले पहिले नै प्यान उपलब्ध गराइसकेका भए पनि कर विवरण समावेश नभएको खण्डमा नजिकको शाखा वा ग्राहक सेवा केन्द्र (फोन: १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।






































