काठमाडौँ। सरकारले कालो सूचीमा राख्नका लागि सिफारिसमा परेका विभिन्न ११ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिस भइआएका निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्न नपर्नाको कारणसहित ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
‘सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएका तर कालोसूचीमा राख्नुपर्ने आधार प्रमाण भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुपर्नेछ,’ कार्यालयले सार्वजनिक सूचना जारी गर्दै निर्देशन गरेको छ।
यसरी स्पष्टीकरण सोधिएका कम्पनीहरूमा शिवम् कन्स्ट्रक्सन (नेपालगन्ज), ग्यालेक्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स कम्पनी प्रालि (काठमाडौँ), जय मयुरी ट्रेडिङ प्रालि (मोरङ) र पूर्णागिरि निर्माण सेवा (डडेलधुरा) रहेका छन् ।


































