साना लगानीकर्ताहरूका लागि कम जोखिममा ठूलो लाभ खोज्ने बाटो के हो? यो प्रश्नको जवाफ दिन म्युचुअल फण्डको नाम अगाडि आउँछ । नेपालमा हाल म्युचुअल फण्डप्रति आकर्षण बढ्दो छ तर अतर यसको अवधारणा भने करिब २५० वर्षअघि नै सुरु भएको थियो ।
म्युचुअल फण्डको इतिहास केलाउँदै जाँदा सन् १७७४ मा पुगिन्छ । त्यस बेला नेदरल्यान्ड्सका व्यापारी एब्राहम वान केटविचले पहिलो पटक सामूहिक लगानीको अवधारणा ल्याएका थिए । 'Eendragt Maakt Magt' नामक पहिलो फण्डबाट सुरु भएको म्युचुअल फन्डको यात्रा पछि बेलायत र फ्रान्स हुँदै अमेरिकासम्म फैलियो ।
म्युचुअल फण्ड भन्नाले धेरै व्यक्तिको सानोसानो रकम जम्मा गरी एकीकृत रूपमा विभिन्न वित्तीय साधनहरूमा लगानी गर्ने प्रक्रियाका रूपमा बुझिन्छ । यसलाई कुनै पूँजी व्यवस्थापन गर्ने कम्पनीले सञ्चालन गरिरहेको हुन्छ । उक्त कम्पनीले लगानीकर्ताको पैसालाई शेयर, ऋणपत्र, सरकारी प्रतिफल जस्ता विविध साधनहरूमा लगानी गर्छ । यसरी फण्ड म्यानेजरको पेशागत व्यवस्थापनमा लगानी गर्दा लगानीकर्ता स्वयं बजार अध्ययन, जोखिम मूल्यांकन जस्ता झन्झट लिइराख्नु पर्दैन ।
म्युचुअल फण्डमा लगानी गर्दा जोखिम कम हुन्छ । लगानीको क्षेत्रमा एउटा भनाइ पनि छ । आफ्नो सबै पैसा कुनै एउटा मात्र ठाउँमा नलगाऊ । हो सोही भनाइ बमोजिम म्युचुअल फण्डमा लगानी गरिएको पूँजी विभिन्न क्षेत्र र कम्पनीमा फैलिएको हुन्छ । यसले घाटा हुने जोखिमलाई न्यून बनाउँछ । म्युचुअल फण्डमा कम रकममै लगानी सुरु गर्न सकिन्छ । अनि अर्काे महत्त्वपूर्ण कुरा भनेको शेयर बजारसम्बन्धी ज्ञान नभएकाहरू पनि यसमा सहजै सहभागी हुन सक्छन् । त्यसैले यो योजना धेरैको प्राथमिकतामा पर्दै गएको छ । पारदर्शिता, नियमअनुसार सञ्चालन र धितोपत्र बोर्डको निगरानीले यसलाई अझै विश्वासिलो बनाएको छ ।
म्युचुअल फण्ड दुई प्रमुख प्रकारका हुन्छन् – खुलामुखी (Open-ended) र बन्दमुखी (Closed-ended)। यी दुवैको उद्देश्य लगानीकर्ताको पैसा व्यावसायिक तरिकाले व्यवस्थापन गर्नु हो तर सञ्चालन शैलीमा केही स्पष्ट फरक छन्।
खुलामुखी म्युचुअल फण्ड मा लगानीकर्ताले जुनसुकै समय units खरिद वा फिर्ता गर्न सक्छन्। यस्तो योजनामा units दिनहुँको NAV (Net Asset Value) अनुसार बेचिन्छ। यो योजना दीर्घकालीन बचत गर्ने, नियमित लगानी गर्न चाहने वा जुनसुकै बेला पूँजी चाहिने सम्भावना भएका व्यक्तिका लागि उपयुक्त हुन्छ। खुल्ला फण्डहरूले liquidity (तरलता) धेरै दिन्छन् अर्थात् पैसा झिक्न सजिलो हुन्छ।
बन्दमुखी म्युचुअल फण्ड भने निश्चित समय (जस्तै ५, ७, वा १० वर्ष) का लागि जारी हुन्छ। यसको units सुरुमा मात्र बेचिन्छन् र त्यसपछि दोस्रो बजार (जस्तै नेपाल स्टक एक्सचेन्ज) बाट किनबेच गर्नुपर्छ। योजना अवधि पूरा भएपछि मात्रै लगानीकर्ताले पूँजी फिर्ता पाउँछन्। यस्ता योजना बढी ‘lock-in’ किसिमका हुन्छन् तर disciplined लगानीका लागि राम्रो विकल्प हुन सक्छ।


































