काठमाडौँ । नेपाल बीमा प्राधिकरण र कोशी प्रदेशबीच बीमा सम्बन्धी छलफल एवम् अन्रतक्रिया कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बीमाको दायरा विस्तारका लागि अध्ययन गर्न उच्चस्तरीय समिति बनाइने जानकारी दिए । यस्तै प्रदेश बीमा नीति ल्याउन लागिएको पनि उनले बताए ।
मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षमा राहत वितरणलाई भन्दा नागरिकलाई बीमाको दायरामा ल्याउने र न्यून आय भएका नागरिकको समेत बीमा गराउने प्रतिबद्धता व्यक्त गरे ।
बीमा कम्पनीहरूले समयमा नै बीमा दाबी भुक्तानी नगरेसम्म बीमाप्रतिको विश्वास नबढ्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले समयमैं दाबी भुक्तानी नदिने कम्पनीहरूलाई कारवाही गर्न प्राधिकरणलाई आग्रह गरे ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम बीमालाई अगाडि बढाउन प्रदेश सरकारले देखाएको अग्रसरताप्रति आभार प्रकट गरे ।
अध्यक्ष ओझाले बीमा दाबी भुक्तानी समयमा नै गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको जानकारी गराउँदै मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीबाट हुने जोखिमलाई ध्यानमा राखेर हात्ती बीमालेख ल्याउन आवश्यक कार्य भइरहेको पनि जानकारी दिए ।
‘बण्डल प्रोडक्ट’ विकास गरेर सबै प्रदेशमा बीमाको अभियान सञ्चालन गर्न प्राधिकरण अग्रसर हुने जानकारी दिँदै अध्यक्ष ओझाले अनौपचारिक क्षेत्रका कामदार र विपन्न वर्गलाई बीमाको दायरामा ल्याउनका लागि आवश्यक व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरे ।
कार्यक्रममा सहभागीहरूले नेपाल बीमा प्राधिकरणले सबै प्रदेशका लागि साझा प्रदेश बीमा नीतिको मस्यौदा तयार गर्नुपर्ने, बीमाको विकास एवम् पहुँच विस्तारका लागि सङ्घ र प्रदेशबीच सहकार्य हुनुपर्ने, जङ्गली हात्तीबाट प्रभावित क्षेत्रका लागि हात्ती बीमालेख ल्याउनुपर्ने, बीमा दाबी भुक्तानीमा ढिलाई हुननहुने लगायतका धारणा राखेका थिए ।


































