काठमाडौँ। घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्न निर्देशन दिएपछि मन्त्री गुप्ताले बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री ओलीले यसबारेमा हिजो बालुवाटार बोलाएर यसमा संलग्न व्यक्तिहरूबारे गुप्तालाई सोधपुछ गरेको स्रोतको भनाई छ ।
उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइसकिएको छ। साथै, यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने प्रधानमन्त्रीनिकट स्रोतले बतायो।
केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबिच लाखौँको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।





































