काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा क्षेत्रको समग्र नाफामा गिरावट देखिएको छ। केही कम्पनीहरूले राम्रो प्रदर्शन कायम राखे पनि प्रमुख कम्पनीहरूको नाफा घट्दा उद्योगस्तरको आम्दानी संकुचित भएको हो।
सार्वजनिक भएका अपरिष्कृत वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीहरूको संयुक्त नाफा समीक्षा अवधिमा ४ अर्ब ५९ करोड २० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिमा यस्तो नाफा ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ थियो।
व्यक्तिगत कम्पनीको प्रदर्शन हेर्दा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ, जसले ४७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको नाफा भने २७.४० प्रतिशतले घटेर ४५ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ।
नेशनल लाइफ, आईएमई लाइफ, सिटिजन लाइफ, एशियन लाइफ, सानिमा रिलायन्स लाइफ, सन नेपाल लाइफ र अन्य कम्पनीहरूले मिश्रित नतिजा देखाएका छन्। एलआईसी नेपालले ३५.७८ प्रतिशतको उच्च वृद्धि दर्ता गर्दै ३२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ।
यस्तै, हिमालयन लाइफको नाफामा ४४.६६ प्रतिशतको गिरावट आएको छ भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा ७३.९५ प्रतिशतले घटेर ४० लाख रुपैयाँमा सीमित भएको छ।



































