काठमाडौँ । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँलाई हत्या सम्बन्धी कसुरमा अभियोजन गरिएको छ । प्रसाईँसहित ६५ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोजन गरिएको हो ।
दुर्गा प्रसाईँलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ । साथै, तीनकुनेमा भएको प्रदर्शनमा संलग्न ६५ जनालाई प्रतिवादी कायम गरिएको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको छ ।सरकारी वकिलले मिश्रसहित ६५ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको हो । मिश्र विरुद्ध राज्य विरुद्धको कसुर,आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ।
यता, राजावादीको पक्षमा प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।
त्यस्तै, उक्त राजावादी प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार जना बालकविरुद्ध पनि मुद्दा दायर हुने भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँले करिब दुई महिना लगाएर गरेको अनुसन्धान प्रतिवेदनका आधारमा चार बालकविरुद्ध पनि मुद्दा दायर हुने भएको हो। उनीहरूविरुद्ध भक्तपुर बाल अदालतमा मुद्दा दायरका लागि पठाइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।


































