काठमाडौं । आज कात्तिक १३ गते सांग्रिला डेभलपमेन्ट बैंकले व्यवसायिक यात्राको २० वर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको छ।
एक अग्रणी राष्ट्रिय स्तरको विकास बैंकको रुपमा अगाडी बढ्दै आएको यस बैंकले ४६ जिल्लाका ८२ वटा स्थानीय तहमा १०९ वटा शाखा मार्फत ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
झण्डै ५ लाख ९२ हजार ग्राहक रहेको यस डेभलपमेन्ट बैंकमा १ लाख १७ हजारभन्दा धेरैले डिजिटल कारोबार गर्ने गरेका छन् ।
बैंकको स्थापना
२०६४ साल भदौ ९ गतेदेखि पोखराबाट कारोबार थालेको सांग्रिला डेभलपमेन्ट बैंक र २०६१ साल कार्तिक १३ गतेदेखि नेपालगञ्जबाट सञ्चालनमा आएको बागेश्वरी डेभलपमेन्ट बैंक बीच मर्ज भएपछि सांग्रिला डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको हो।
बैंकको व्यवस्थापन
सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा उज्वल सत्याल रहनुभएको छ । सदस्यहरूमा सुनिल काजी बानियाँ, गंगा सागर ढकाल, नरेश ढुङ्गाना, लीसा शेरचन, सुजनसिद्धि बज्राचार्य र रवीन्द्र नारायण प्रधान रहनुभएको छ । यसैगरी अनुभवी बैंकर सुयोग श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत रहनुभएको यस डेभलपमेन्ट बैंकको प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रमुख कर्जा अधिकृत रजित मास्के रहनुभएको छ।
बैंकको वित्तीय अवस्था
चुक्ता पूँजी, जगेडा कोष र सञ्चित नाफा
सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
आ व २०८१/८२ को चौथो त्रैमास सम्म कम्पनीको जगेडा कोषमा १ अर्ब ६० करोड रुपैयाँ जम्मा रहेको छ भने सञ्चित नाफा ४१ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

निक्षेप र कर्जा
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५६ अर्ब १९ करोड ७३ लाखरुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ८८ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

खुद ब्याज आम्दानी र नाफा
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ५३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड रुपैयाँ गरेको छ । बैंकको कुल सम्पत्ति ६३ अरब ४१ करोड ८० लाख भन्दा बढी रहेको छ ।

प्रतिशेयर आम्दानी र नेटवर्थ
सांग्रिला डेभलपमेन्ट बैंकको प्रति शेयर आम्दानी १५ दशमलव १ रुपैयाँ छ । साथै, प्रति शेयर नेटवर्थ भने १५६ दशमलव ७१ रुपैयाँ पुगेको छ । नेटवर्थमा देखिएको वृद्धिले कम्पनी थप बलियो बन्दै गएको पुष्टि गर्छ ।

सेवा
‘स्थानीय विकासको आधार’ भन्ने मूल नारा रहेको सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाकालदेखि नै “सर्वसुलभ वित्तीय पहुँच” भन्ने मूल मन्त्रका साथ ग्रामीण र दुर्गम क्षेत्रसम्म बैंकिङ सेवा पुर्याउने लक्ष्य लिएको छ । बैंकका अनुसार ग्रामीण अर्थतन्त्रलाई औपचारिक वित्तीय प्रणालीमा ल्याउन सके आर्थिक विकासमा दीर्घकालीन योगदान पुग्ने विश्वास राखिएको बैंकले जनाएको छ ।
नवीनतम प्रविधि अपनाउने हिसाबमा पनि सांग्रिला डेभलपमेन्ट बैंक अगाडी रहेको पाइन्छ । बैंकको डिजिटल प्लेटफर्म मार्फत मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, अनलाइन बिल भुक्तानी र इन्टरनेट बैंकिङ सेवा उपलब्ध छन् ।
बैंकले व्यक्तिगत, घर निर्माण, साना व्यवसाय, कृषि तथा गाडी कर्जा उपलब्ध गराउँदै आएको छ । साथै बालबालिका, महिला र ज्येष्ठ नागरिकका लागि बचत खाता सञ्चालन गरिरहेको छ ।
बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र आपतकालीन राहतजस्ता क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याएको छ । गत आर्थिक वर्षमा मात्रै यस बैंकले कर्णाली प्रदेशका चार वटा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर जस्तो अति आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । यस्तै जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको प्रहरी वृत्त दरबारमार्गलाई कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिनका साथै ट्राफिक प्रहरीलाई यातायात व्यवस्थापनका सामग्री उपलब्ध गराएको छ ।
दीर्घकालिन लगानीका लागि राम्रो कम्पनी
सांग्रिला डेभलपमेन्ट बैंक दीर्घकालिन लगानीका लागि एक उत्कृष्ट कम्पनी बन्न सक्ने आधारहरु धेरै छन् । हरेक वर्ष सेयर धनीलाई लाभांश वितरण गरेको यस कम्पनीको नेटवर्थमा पनि वृद्धि कायमै छ । लगातार लाभांश दिन सफल सांग्रिला डेभलपमेन्ट बैंकको सबलवित्तीय अवस्था , निक्षेप संकलन र कर्जा प्रवाहमा स्थिर वृद्धि, सन्तुलित शाखा विस्तार र आक्रामक डिजिटलाईजेसनले बैंकको सुनौलो भविष्यको संकेत गर्दछ ।
सेयर लगानीकर्ताहरु माझ यस कम्पनीको आकर्षण उच्च छ । बुधबारको अन्तिम कारोबार अनुसार कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४०२ रुपैयाँ रहेको छ । प्रविधिक रुपमा हेर्ने हो भने यस बैंकको नजिक सपोर्ट एरिया ३८० मा रहेको छ भने नजिकको अवरोध ४३३ को एरियामा छ ।
नेपालको शेयर बजारमा स्थायित्व, निरन्तर सेवा र विश्वसनीय व्यवस्थापन भएका कम्पनीहरु सधैं लगानीकर्ताको प्राथमिकतामा रहन्छन् । त्यसमध्ये सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड हालका वर्षहरुमा सन्तुलित वित्तीय प्रदर्शन र स्थायी लाभांश वितरणका कारण लगानीकर्ताले भरोसा गर्न सक्ने कम्पनी बन्न सक्छ । तर शेयर किन्दा लगानीकर्ताले यस विश्लेषणको मात्र भर नपरी थप अध्ययन गर्नु आवश्यक हुन्छ ।
लाभांश इतिहास
सांग्रिला डेभलपमेन्ट बैंकले हरेक वर्ष शेयरधनीलाई लाभांश दिएको छ । बैंकको औसत लाभांश वितरण दर ११ दशमलव ७९ प्रतिशत रहेको छ । यसपटक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश क्षमता भने ११ दशमलव ६४ प्रतिशतसम्म देखिन्छ । तर बैंकले यसको आधिकारिक निर्णय भने गरिसकेको छैन ।
विगत १३ वर्ष यता सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश इतिहास
































