काठमाडौँ । नेपाल धितो पत्र बोर्डले धितो पत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा फेरबदल गरेको छ । बोर्डले आन्तरिक रूपमा गठित समितिको सिफारिसमा यो निर्देशिकामा संशोधन गरिएको हो।
बोर्डले आउँदो साउन १ गतेदेखि लागू हुने गरी संशोधित निर्देशिकामार्फत दुई वटा व्यवस्था कायम गरिएको छ। जस अनुसार अब विदेशमा रहेका नेपालीहरूलाई छुट्टाइएको शेयरका लागि दरखास्त दिन खुला रहने विद्यमान १५ दिनको अवधिलाई परिमार्जन गरी कम्तीमा ४ कार्य दिन कायम गरिएको छ।
उक्त अवधिसम्म निष्कासन गरिएको सबै धितो पत्र बिक्री नभएमा उक्त समयावधि खुला भएको मितिले १५ दिनसम्म कायम रहने व्यवस्था संशोधित निर्देशिकामा गरिएको छ। त्यस्तै, धितो पत्र बोर्डले निर्देशिकामा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन गर्ने व्यवस्था गरिएको छ।
संशोधित निर्देशिकामा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर मात्रै अग्राधिकार शेयर जारी गर्न बैंक तथा वित्तीय संस्थाले धितो पत्र बोर्डमा आवेदन दिन सक्ने प्रावधान तोकिएको छ। बैंक तथा वित्तीय संस्थाले अंकित मूल्य १०० रुपैयाँमा अग्राधिकार शेयर जारी गर्न पाउनेछन्।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुने गरी संस्थागत लगानीकर्तालाई मात्र अग्राधिकार शेयर जारी गर्न पाउनेछन्। यसमा सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमतिप्राप्त धितो पत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैनन्।



































