काठमाडौं । सेयर बजारको घट्नेक्रमले आजपनि निरन्तरता पाएको छ । मंगलबार नेप्से सूचक ३०.३६ अंकले घटेको छ । आज सूचक २८४६.३० अंकमा अडिएको छ ।
निकै कम समयमा मूल्य बढेपछि नाफा सुरक्षित गर्न खोज्ने ट्रेडरहरुको संख्यामा वृद्धि देखिएको कारण बजारलाई दबाब परेको हो । आज ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन्।
ट्रेडरहरुले प्रोफिट बुक गर्दा बजार प्रभावित भएको जानकारहरुको भनाई छ । स्वभाविक र नियमित प्रक्रिया अनुसार अहिले नेप्से घटेको हो । यद्यपि, बजारको समग्र माहोल भने सकारात्मक नै रहेको विश्लेषकहरुको भनाई छ ।
आज बैंकिङ समूहको १.०५ प्रतिशत, विकास बैंक समूहको ०.३९ प्रतिशत, फाइनान्स समूहको २.१० प्रतिशतले शेयर मूल्य घटेको छ।
बढ्दो बजारमा सानातिना करेक्सनलाई स्वभाविक मानिन्छ । करेक्सनले बजारलाई थप बलियो बनाउने र अगाडिको लामो यात्राका लागि थप सहज बनाउने विश्लेषकहरु बताउँछन् । .
आम लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक पाइएको छ । मुख्य कुरा बैंक ब्याजदर निकै तल्लो विन्दुमा आएको छ । प्रणालीमा अधिक तरलताको अवस्था छ । यसले सेयर बजार माथि लैजान ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।
विशेषगरी हाइ क्यापका कम्पनीहरु चल्न थालेकाले पनि बजार बुल रनमा प्रवेश गरेको स्पष्ट देखिएको छ । समग्रमा बजारको माहोल पोजेटिभ छ । हाइ तथा मीड क्यापका कम्पनीहरु चल्नु, दैनिक कारोबार रकम बढ्नु बुल रनका स्पष्ट संकेत हुन् ।
































