काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिवार पाँच दिने चीन भ्रमणका लागि जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आज प्रधानमन्त्रीको भ्रमण कार्य तालिका र टोली सदस्यहरूको नाम सार्वजनिक गरेको छ।
सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चीनको पाँच दिने भ्रमणमा जाने भएका हुन्। प्रधानमन्त्रीको टोलीमा उनकी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, संघीय सांसद पूर्णबहादुर खड्का र छविलाल विश्वकर्मा तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा तथा परराष्ट्रका कर्मचारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच सम्मेलन स्थल तियान्जिनमा भेटवार्ता तय भएको परराष्ट्रले जनाएको छ। प्रधानमन्त्री ओलीले सोमवार तियान्जिनमा आयोजना हुने एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।साथै, ‘शिखर सम्मेलनको अवसरमा सहभागी अन्य राष्ट्रप्रमुखहरूसँग पनि प्रधानमन्त्री ओलीले भेटवार्ता गर्नुहुनेछ’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री ओलीले बेइजिङमा मङ्गलवार चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले बुधवार बेइजिङमा आयोजित जापानी आक्रमणविरुद्ध चिनियाँ जनताको युद्ध र फासीवाद युद्धमा विजयको ८०औं वार्षिकोत्सवको स्मृतिमा आयोजित सैन्य परेडमा सहभागी हुने परराष्ट्रले जनाएको छ।






































