काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था फर्काउन भन्दै मंगलबार काठमाडौँमा प्रदर्शन गरेको छ । बल्खुमा मंगलबार दिउँसो राप्रपाले प्रदर्शनसहितको सभा आयोजना सम्पन्न गरेको हो।
सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले सम्बोधन गरेको थिए । बल्खुमा सभा सुरु गर्नुअघि काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो।
राप्रपाले यता बल्खुमा प्रदर्शन गरिरहँदा राज्यविरुद्धको अपराधमा पक्राउ परेका सोही पाटीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवल शमशेर राणालाई भने थप १५ दिन हिरासतमै राखिने भएको छ ।
जिल्ला अदालत काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र सांसद राणालगायत अन्य पक्राउ परेका २० जनालाई थप अनुसन्धानका लागि १५ दिनको म्याद थप गरेको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न राणासहित २० जनालाई थप अनुसन्धान गर्न १५ दिनको म्याद थप भएको जानकारी दिएका छन् ।
चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान जानुको साथै थुप्रै निजी सम्पत्तिमा क्षति पुगेको थियो। प्रदर्शनकारीले मिडिया लक्षित आक्रमणसमेत गरेका थिए।

































