काठमाडौं । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक तथा व्यवसायिक प्रशिक्षक डा. उज्ज्वल पाटनीको उपस्थितिमा “बिजनेस ब्लुप्रिन्ट नेपाल” नामक सेमिनार आगामी भदौ १२ गते (२८ अगस्ट २०२५) काठमाडौंमा आयोजना हुँदैछ। यस कार्यक्रमको मुख्य प्रायोजकको रूपमा शिवम् सिमेन्ट सहभागी हुने भएको छ।
सेमिनार होटल मेरियट, नक्सालमा बिहीबार बिहान १०:३० बजेबाट सुरु भई अपरान्ह ५:०० बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार यो कार्यक्रम नेपालमा आयोजना हुने व्यवसायिक उत्प्रेरणामूलक सेमिनारहरूमध्ये एक महत्वपूर्ण कार्यक्रम हुनेछ।
शिवम् सिमेन्टले यसअघि पनि आफ्ना सन्देशमूलक अभियानहरू जस्तै ‘शिवम् सन्देश’ र ‘नो कम्प्रमाइज’ जस्ता कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश फैलाउँदै आएको छ। कम्पनीले यस प्रकारका अभियानहरू र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता जनाउँदै आफ्नो ब्रान्ड भ्यालु सुदृढ बनाउँदै आएको जनाएको छ।
शिवम् सिमेन्टका प्रतिनिधिका अनुसार, “बिजनेस ब्लुप्रिन्ट नेपाल” सेमिनारमा सहभागिताले व्यवसायी, युवा उद्यमी र नेतृत्व विकासमा संलग्न व्यक्तिहरूलाई नयाँ सोच, प्रेरणा र ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ।
डा। उज्ज्वल पाटनी तीनवटा गिनिज वर्ल्ड रेकर्ड होल्डर हुनुका साथै १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित छन्। सन् २०१४ मा उहाँ “टप १० थिङ्कर” मा परेका थिए भने भारतमा “बेस्ट कर्पोरेट ट्रेनर” को उपाधिसमेत पाएका थिए।
उनको डिजिटल कार्यक्रम “द उज्ज्वल पाटनी शो” साप्ताहिक रूपमा ७५ भन्दा बढी देशमा ८० लाखभन्दा धेरै दर्शकहरूले हेर्दै आएका छन्। “बिजनेस गुरु कुल”, “भीआईपी” र “बिजनेस अडिट” कार्यक्रममार्फत उहाँले १० हजारभन्दा बढी व्यवसायीहरूको रूपान्तरणमा सघाउ पुर्याएका छन्।
डा। पाटनीका ७ पुस्तकहरू १२ वटा भारतीय भाषामा अनुवादित भइसकेका छन् र ती पुस्तकहरूको १० लाखभन्दा बढी प्रति विश्वभर २८ देशमा बिक्री भइसकेको आयोजकले जनाएको छ।
सेमिनार आयोजक र प्रायोजक दुवै पक्षले नेपाली व्यवसाय क्षेत्रको विकास र दक्ष जनशक्तिको निर्माणमा यो कार्यक्रम एक प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरेका छन् ।






































