मानवजीवनमा विभिन्न खालका जोखिम आउँछन् । बीमाको प्रमुख उद्देश्य भनेको मानिसलाई तिनै जोखिमहरूबाट जोगाउनु हो । यसै सन्दर्भमा आर्थिकभ्वाइसले हिमालयन लाइफ इन्स्योरेन्सका डिसिओ कपील कुमार दाहालसँग कुराकानी गरेको छ । प्रस्तुत छ डिसिओ कपील कुमार दाहालले राख्नुभएको विचारको सम्पादित अंश :
बीमा कम्पनीले विभिन्न प्रोडक्ट ल्याएको हुन्छ । प्रोडक्टको बारेमा समयसमयमा अभिकर्ता (फाइनान्सियल एडभाइजर) लाई तालिम पनि दिइराखेको हुन्छ ।
प्रोडक्टलाई कसरी बिक्री गर्ने भन्ने प्रश्न आउँछ । उदाहरणका लागि मानौं म टुथपेस्ट, जुत्ता वा अरु सामान किन्न जाँदा सुरुमा त्यसको विशेषता र फाइदाका आधारमा सामान किन्ने कि नकिन्ने भनेर विश्लेषण गर्छु । सोही अनुसार हामी सुरुमा अभिकर्तालाई बीमाको फाइदा के हो त्यो कुरा बताउँछौं । यहाँनेर कुनै पनि मिसकम्युनिकेश वा ग्याप हुनुहुँदैन । हामीले उहाँहरूलाई बीमाका बारेमा प्रष्ट बुझाउन सक्नुपर्छ । बीमाका प्राविधिक कुरा हुन्छन् । बीमक कम्पनीले कस्तो बेनिफिट दिन्छ, यसले व्यक्ति र राज्यलाई कस्तो फाइदा पुगेको हुन्छ सबै कुरा खुलस्त भन्नुपर्छ । बुझ्नेले राम्रोसँग बुझेन र बुझाउनेले पनि प्रभावकारी तरिकाले बुझाउन सकेन भने प्रोडक्ट सेल नहुने जोखिम बढ्छ ।
तालिममा हामी बीमाका विभिन्न फाइदाका बारेमा बताउँछौं । सबैभन्दा पहिले बीमाले रिस्क कभरेज गर्छ । रिस्क कभरेज जीवन र निर्जीवन बीमा दुवैसँग सम्बन्धित हुन्छ । बीमितले आफ्नो आर्थिक स्थिति कस्तो छ, आय कस्तो छ, कुन प्रिमियम तिर्न सकिन्छ, यावत् कुराको अध्ययन गरेर बीमा सुरु गर्नुपर्छ । बीमितले बुझाउने बीमा शुल्कको आकारका आधारमा प्रोडक्ट र रिस्क कभरेज निर्धारण हुन्छ ।
बीमाको खास मर्म भनेको हरेक घरधुरीमा रहेका परिवारलाई ब्रेड अर्नरको अभाव नखट्कियोस् भन्ने नै हो । ती व्यक्ति जसमाथि परिवारका अन्य सदस्य आर्थिक वा भावनात्मक रूपले आश्रित हुन्छन् तिनीहरू परिवारका लागि ब्रेड अर्नर हुन् । ब्रेड अर्नर बिना अन्य सदस्यले सजिलै जीविकोपार्जन गर्न सक्दैनन् । त्यही घरको मूल व्यक्तिले बीमा गरेको छ र भविष्यमा उसको मृत्यु भइहालेका खण्डमा परिवारका अन्य सदस्यलाई कसरी आर्थिक रूपले बलियो बन्ने भन्ने कुराको मार्ग बीमाले देखाउँछ । मृत्यु कतिबेला हुन्छ थाहा हुँदैन ।
बीमाको अर्काे फाइदा भनेको यसले देश र व्यक्ति दुवैलाई वित्तीय स्थिरता प्रदान गर्छ । दुर्घटना हुँदा आउने रकम होस् या मेच्युरिटी पछि आउने बोनसबाट बीमितलाई फाइदा गरेको हुन्छ । त्यसका साथसाथै बीमा एउटा उद्योग पनि हो । यसले राष्ट्रको कुल गार्हस्थ उत्पादनमा पनि योगदान पुर्याइरहेको हुन्छ । पूर्वाधारको विकासमा पनि पनि यसको भूमिका हुन्छ । बीमा गरिरहँदा छरिएर रहेको धन या रकमलाई एकत्रित गरिन्छ । यसले पनि देशलाई समृद्धितिर लैजान्छ ।
बीमाको दीर्घकालीन फाइदा पनि हुन्छ । त्यो भनेको मनिब्याक हो । बीमाबाट मनिब्याकका रूपमा पाउनुभएको पैसालाई तपाईंले अरू कुनै ठाउँमा लगानी गर्न सक्छ । त्यो शेयर बजार, रियल स्टेट, आयात निर्यात, आदि हुन सक्छ । सँगै रिटायरमेन्टपछिको योजना बनाउन पनि बीमाले सहयोगी भूमिका खेल्छ ।
बीमा गरिरहँदा ट्याक्सको पनि बेनिफिट पाइन्छ । श्रमजीवीले आयकर ऐन अनुसारको बेनिफिट पाउँछ । उपचारको सुविधा पाउँछ । आपत्कालीन अवस्थामा बीमाले बीमित र उसका परिवारको सुरक्षाभरण गर्दछ । अर्काे कुरा भनेको भविष्यलार्य लिएर पूर्वतयारी गर्ने बानीको पनि विकास गराउँछ । मानौं कसैले मासिक ५० हजार कमाउँछ । उसको मासिक कस्ट अफ लिभिङ ३० हजार छ भने बीमाले उसलाई बाँकी रहेको पैसाको बचत गर्न सिकाउँछ ।
निश्चित अवधिको लागि राखिएको पैसा मेच्युरिटी पुगेपछि बीमा शुल्कमा बोनस जोडिएर बीमितले पाउँछ । त्यो रकमलाई अभिभावकले आफ्ना सन्तानको लालनपोषण र उच्च शिक्षा प्राप्त्मिा खर्च गर्न सक्छन् । प्रोडक्टबाट आएको मनिब्याकलाई सही ठाउँमा लगानी गर्दा पैसाको भ्याल्यु पनि बढ्छ ।
बीमा आफैंमा उद्योग रहेको कुरा पनि उल्लेख गरेको थिएँ । यसको माध्यमबाट धेरैले रोजगारी पनि पाइरहेका हुन्छन् । बीमा कम्पनीबाट ऋण लिँदा धेरै सुविधा पाइन्छ । बैंकमा ऋण लिँदा बीमालाई कोलेटरल राखिएको हुन्छ ।


































